काठमाडौं । करिब तीन दशकभन्दा बढी समय शिक्षण पेशामा समर्पित रहि विद्यार्थी, शिक्षक र समुदायको मन जित्न सफल पद्म प्रकाश माध्यमिक विद्यालयकी वरिष्ठ शिक्षिका निर्मला शिल्वालले अवकाश लिएकी छिन । २०४६ साल फागुन ३१ गतेबाट शिक्षण पेशामा प्रवेश गरेकी उनीले ३६ वर्षको सेवा मध्ये ३१ वर्ष पद्म प्रकाश विद्यालयमै बिताएकी हुन्।
शिल्वालले अध्यापन यात्रा ललितपुरको वाडेगाउँस्थित बुद्ध माविमा शुरु गरेकी थिइन्। त्यहाँ तीन वर्ष सेवा गरेपछि उहाँ घरायसी कारण धापाखेल बसाइ सराई हुन आएको र त्यसपछि २०५० साल जेठ १३ गतेबाट पद्म प्रकाश शिशु विद्यालयमा स्थायी दरबन्दीसहित सरुवा भएर आएको थिइन् ।

विद्यालयमा आउँदाखेरि उनलाई यो विद्यालय सामुदायिक नभई निजी अंग्रेजी माध्यमको बोर्डिङ स्कुलजस्तै अनुशासित र सक्रिय देखिएको स्मरण गर्दे शिल्वाल भन्छिन्, ‘दिनदिनै अंग्रेजी माध्यममा पढाइ भइरहेको देख्दा लाग्थ्यो, काश१ यो विद्यालयमा नै पढाउन पाइएला।’ आखिर त्यो इच्छा पूरा भयो र विद्यालयसँगै आफूले पनि उचाइ पाएको उनले बताइन्।
विद्यालयका संस्थापक स्व. जगतबहादुर बानियाँ, समाजसेवी, शिक्षक अभिभावकको अथक योगदान र सहयोगका कारण विद्यालयको जग बलियो बन्दै गएको शिल्वालल बताइन् । आर्थिक अभावका दिनमा शिक्षक तथा समुदायकै हातेमालोले कक्षाकोठा निर्माण, सामाग्री संकलन तथा शैक्षिक सामग्री व्यवस्थापन भइरहेको थियो।
‘विद्यालय चलाउन लेखापालको तलबसमेत स्थायी शिक्षकको तलबबाट कटाएर चलाइएको समय पनि थियो,’ शिल्वालले कठिन दिनको स्मरण सुनाइन्। कक्षा ८ सञ्चालनका लागि आवश्यक पर्ने २५ हजार धरौटी तत्कालीन गाविस अध्यक्ष र उपाध्यक्षको सहयोगमा जुटाइएकाले विद्यालयले कक्षा विस्तारको यात्रा सुरु गरेको उनले बताइन्।

उनीलाई २०५१ साल भदौ १२ गते विद्यालयले प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । यो अवधिमा विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिमा विद्यालय व्यवस्थापन समिति, सहकर्मी शिक्षक तथा समुदायको साथले महत्वपूर्ण प्रगति भएको उनले बताइन् ।
उनको नेतृत्वकालमा विद्यालयले जापानी सहयोगमा नयाँ भवन, आवश्यक शैक्षिक सामग्री तथा पोशाकको व्यवस्था गर्न सफल भएको थियो। कक्षा ९ र १० सञ्चालनको प्रक्रिया उनले अघि बढाएकै कारण विद्यालयले एसईईमा सहभागी हुने अवसर पाएको प्रधानाध्यापक देवरत्न महर्जनले बताए।
उनले भनिन्‘३६ वर्षको यात्रामा आफूले कुनै दिन शिक्षण पेशालाई बोझका रूपमा नलिएको शिल्वाल भन्छिन्, ‘विद्यार्थीसँग घुलमिल हुँदा हरेक दिन नयाँ ऊर्जा पाउँथें।’ सहकर्मी, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा समुदायबाट पाएको सम्मान, माया र सहयोग नै आफ्नो असली सम्पत्ति भएको उनले बताइन् ।






