बारा । बुधबार बारा जिल्लाको सिमरामा जेन जी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु बीच भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र शनिबारसम्म आइपुग्दा सामान्य बन्दै गएको छ ।
बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन जी युवा र जिल्ला सुरक्षा समिति बारा बीच शुक्रबार साँझ भएको वार्ता सँगै हाल अवस्था सामान्य बन्दै गएको हो ।

जेन जी युवाहरुले शान्त रुपमा गरी रहेको प्रदर्शनीमा नेकपा एमाले निकट नेता तथा कार्यकर्ताहरूले अवरोध गरी हातपात गरेसँगै सिमरा अशान्त बनेको थियो ।
भाद्र २३ र २४ गते देशव्यापी रुपमा भएको जेन जी आन्दोलनका क्रममा तत्कालीन सरकारले शक्तिको चरम दुरुपयोग गरी युवाहरुको हत्या गरेको र सो घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई कानुनी रुपमा कारबाही गर्नु पर्ने माग राखी शान्तिपूर्ण प्रदर्शनी गर्दै गरेको जेन जी समूहलाई एमाले निकट नेता तथा कार्यकर्ताहरु हातपात गरेको बारा जिल्ला जेन जी युवा संयोजक सम्राट उपाध्यायले जानकारी दिए ।
हाम्रो शान्तिपूर्ण प्रदर्शनी थियो, त्यही समयमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत अन्य नेता बारा आउने कुरा हामीले सुनेका मात्र थियौं, हामीले कुनै झणड वा अशान्ति मच्चाउनका लागि प्रदर्शनी गरेका गरेका थिएनौं, तर त्यही समयमा प्रहरी प्रशासन र एमाले निकट नेता तथा कार्यकर्ताहरु हातपात गरेपछि हामी चुप लगेनौ उनले बताए ।
शुक्रबार साँझसम्म बसेको वार्तामा जेन जी युवाहरुले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा घटाउने योजनाकारलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, जेन जी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालिक जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।
सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेन जी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएसँगै शनिबार बिहानैबाट बारा सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । स्थानीयहरू बिहानै देखि आफ्नो काममा व्यस्त देखिएका छन् ।
बुधबार र बिहीबार अवस्था निकै तनाव थियो, सुरक्षाको अवस्था नाजुक थियो, डर थियो अब भने सामान्य भएको छ, एक स्थानीयले बताए ।
एकतिर जेन जी, अर्को तिर एमाले निकट नेता तथा कार्यकर्ताहरु र प्रहरी प्रशासन शान्तिको माहोल नै थिएन, स्थानीयहरू त्रासमा बस्नु परेको थियो ।
वार्ता राम्रो भएको छ, अब भोलिबाट स्कूल पनि खुल्ला हुन्छ, सामान्य बन्दै गयो अब स्थानीयहरु अहिले भने ढुक्क देखिन्छन् ।






