काठमाडौँ। काठमाण्डौको सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गएको वर्ष अस्पतालले १४२ जना बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले जानकारी दिए ।
अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका बिरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।
जलनका बिरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको अस्पतालले अहिलेसम्म पाँच लाखभन्दा धेरै जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाएको छ ।







