काठमाडौं । नेपालमा २०८१ कात्तिक २८ गते एक लाख ६२ हजार दुई सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य ठीक एक वर्षपछि अर्थात् २०८२ कात्तिक २८ गते दुई लाख ४९ हजार सात सय रुपैयाँ पुग्यो । यसरी हेर्दा एक वर्षमा मात्रै नेपालमा सुनको मूल्य ८६ हजार पाँच सय रुपैयाँ अर्थात् एक वर्षमा सुनको मूल्य ५३.९५ प्रतिशतले बढेको छ ।
नेपालमा मात्र होइन, विश्वभर नै सुनको मूल्य तीव्र रूपमा बढ्दो छ । अमेरिकामा सन् २०२४ नोभेम्बर १४ मा सुनको मूल्य प्रतितोला ९ सय ६२ अमेरिकी डलर थियो जुन सन् २०२५ नोभेम्बर १४ सम्म आईपुग्दा १ हजार ५ सय ७६ अमेरिकी डलर पुगेको छ । यसरी हेर्दा एक बर्षमा अमेरिकामा एक तोला सुनको मूल्य ६ सय ११ अमेरिकी डलर अर्थात् ६३.५ प्रतिशतले बढेको छ । अमेरिकामा भएको सुनको यो मूल्यवृद्धि नेपालमा भन्दा पनि उच्च हो ।
एक वर्षको अन्तरालमा नेपालमा सुनको मूल्य प्रतितोला ५३.९५ प्रतिशतले बढ्नु र अमेरिकामा ६३.५ प्रतिशतले बढ्नु भनेको दुवै बजार एकै प्रकारको विश्वव्यापी दबाबबाट गुज्रिएको संकेत हो । नेपालजस्तो आयात निर्भर बजारमा अन्तर्राष्ट्रिय मूल्यको सिधा असर पर्छ, जसका कारण अमेरिकी बजारमा हुने मूल्य उतार–चढावले तत्कालै नेपाली बजार पनि प्रभावित हुन्छ । सोहीकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्यवृद्धि उच्च हुने गर्दछ।
किन बढ्दैछ विश्वभर सुनको मूल्य ?
१) विश्व अर्थतन्त्रमा अनिश्चितता
वल्र्ड गोल्ड काउन्सिलका अनुसार यसरी विश्वभर नै सुनको मूल्य बढ्नुमा विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव, मुद्रास्फीति बढ्नु, केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन किनिरहनु र अमेरिकी डलर कमजोर हुँदा विश्वभर नै सुनको मूल्य बढ्दै गएको हो । खासगरी युक्रेन–रूस युद्ध, मध्यपूर्व तनाव र अमेरिकी अर्थतन्त्रमा देखिएको कमजोरीका कारण लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ आकर्षित हुँदा, विश्व बजारमा सुनलाई सुरक्षित लगानीको क्षेत्र मानिने भएकाले सुनको स्वतः माग बढेपछि सुनको मूल्यमा वृद्धि भएको हो ।
२) अमेरिकी ब्याजदर कटौतीको सिधा प्रभाव सुनमा
अमेरिकी फेडरल रिजर्भ बैंकले सन् २०२५ मा ब्याजदर घटाउने नीति अपनाएसँगै यसको प्रभाव सुनको मूल्यमा परेको हो । सेप्टेम्बर २०२५ मा बैंकले पहिलोपटक ब्याजदर कटौती ग¥यो र त्यसपछि अक्टोबर २०२५ मा थप २५ बेसिस पोइन्ट घटाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा ल्याएको थियो । यसरी ब्याजदर घट्दा डलर कमजोर हुन्छ जसले गर्दा सुन जस्ता मूल्यसंचय गर्न सकिने धातुहरु अधिक आकर्षक बन्दा सुनको मूल्य वृद्धि भएको हो किनभने डलर कमजोर हुनेवित्तिकै सुनको विश्वव्यापी मागमा वृद्धि हुन्छ । वित्तीय बजार विश्लेषक काइल रोड्डाले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा कमजोर आर्थिक परिदृश्य र अमेरिकी ब्याजदर कटौतीले बहुमूल्य धातुहरूको मुल्यलाई बढाइरहेको बताएका छन् ।
३) अमेरिकी डलर कमजोर हुँदा सुन बन्यो बलियो
सुन र अमेरिकी डलरबीच उल्टो सम्बन्ध हुन्छ । डलर बलियो हुँदा सुन सस्तो हुन्छ भने डलर कमजोर हुँदा सुन महँगो हुन्छ । अहिले विश्व बजारमा देखिएको परिदृश्य पनि यही हो । २०२५ मा ब्याजदर घटेपछि अमेरिकी डलर कमजोर हुन थाल्यो । जसले गर्दा लगानीकर्ताहरूले डलर बेचेर सुरक्षित सम्पत्ति अर्थात सुनमा लगानी गर्न प्रेरित भए र सुनमा लगानी गर्न थाले ।
वल्र्ड गोल्ड काउन्सिलकी वरिष्ठ बजार विश्लेषक लुइस स्ट्रिटले अमेरिकी डलर कम्जोर हुने शिलशिला, कम ब्याजदरको अपेक्षा र अस्थिरताको खतराले लगानीका मागलाई थप बढाउन सक्ने भएकाले आफु सुनको भविष्य प्रति आशावादी भएको बताएकी छन्।
अमेरिकी डलर किन कमजोर हुँदै गइरहेको छ ?
फेडरल रिजर्भको ब्याजदर कटौती, अमेरिकाको बढ्दो राष्ट्रिय ऋण, बजेट घाटा, ‘डि–डलराइजेसन’को बढ्दो प्रवृत्ति र अमेरिकाको सुस्त आर्थिक वृद्धि लगायतका कारणले अमेरिकी डलर कमजोर हुँदै गइरहेको छ । जसले गर्दा डलरप्रतिको भरोसामा तिब्र गिरावट भईरहेको छ ।
४) विश्वभरका केन्द्रीय बैंकहरूले रेकर्ड स्तरमा सुन खरिद
विश्व बैंकका अनुसार २०२५ मा सुनको मूल्यमा लगभग ४२ प्रतिशतको वृद्धि हुने अनुमान छ, जुन १९७० को दशकको अन्त्यपछिको सबैभन्दा बलियो वार्षिक वृद्धि हुनेछ। यो वृद्धि बढ्दो भूराजनीतिक तनाव र कमजोर हुदैगरेको अमेरिकी डलरसँग जोडिएको छ । वल्र्ड गोल्ड काउन्सिलको तथ्यांकअनुसार बिगत ३० वर्षको तथ्यांकको तुलनामा सुनको उत्पादन सन् २०२४मा सबैभन्दा उच्च भएको छ ।
काउन्सिलको तथ्यांकअनुसार सन् २०२४ मा खानीबाट ३ हजार ६ सय ६१ टन सुन उत्पादन भएको थियो । जसमा सन् २०२४ मा विश्वभरको कुल सुन आपूर्ति (खानी र पुनः प्रशोधन मिलाएर) चार हजार नौ सय ७४.५ टन पुगेको हो । जसमा सन् २०२४ मा मात्रै विश्वभरका केन्द्रीय बैंकहरूले १,०३७ टनभन्दा बढी सुन खरिद गरेका छन् ।
५) मुद्रास्फीति र आर्थिक जोखिम
मुद्रास्फीति बढ्दै जाँदा मुद्राको क्रयशक्ति घट्छ, तर सुनले आफ्नो मूल्य कायम राख्छ । यसैले लगानीकर्ताहरूले क्रयशक्ति जोगाउन सुनमा लगानी बढाए । सन् २०२५ मा मुद्रास्फीति नियन्त्रण लक्ष्यभन्दा माथि रहेको अवस्थामा सुनको माग बढ्न पुग्यो ।
यिनै अन्तर्राष्ट्रिय वातावरणका कारण नेपाल र अमेरिकामा मात्र होइन, विश्वका अधिकांश बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको देखिन्छ । खासगरी युक्रेन–रूस युद्ध, मध्यपूर्व तनाव, र अमेरिकी अर्थतन्त्रमा देखिएको कमजोरीका कारण लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ आकर्षित हुँदा विश्व बजारमा सुनलाई सुरक्षित लगानीको क्षेत्र मानिने भएकाले सुनको स्वतः माग बढेपछि सुनको मूल्यमा वृद्धि भएको हो । किनभने विश्व बजारका लगानाकर्ताहरुले अझै पनि स्टक मार्केट वा क्रिप्टोमा भन्दा सुनमा नै बढी विश्वास गर्छन् ।
नेपालमा सुनको मूल्य किन थप बढ्दैछ ?
नेपालमा सुनको मूल्य बढ्नुमा विलासिता शुल्क ,भन्सार दर, ढुवानी, बीमा खर्च र डलरको मूल्य, वैदेशिक मुद्रा तरलता, आयात वृद्धि, र विश्वव्यापी आर्थिक–राजनीतिक अस्थिरता मुख्य कारणहरू हुन् । यदि यी सबै कारणहरू यथावत रह्यो भने नेपाली बजारमा सुन अझै महँगो हुने छ ।
२) अमेरिकी डलरसँगको सम्बन्ध
नेपालमा सुनको मूल्य धेरै हदसम्म अमेरिकी डलरसँग जोडिएको छ । डलरको मूल्य उच्च हुँदा सुन नेपालमा अझ महँगो हुन्छ । विश्लेषकहरूको अनुमान अनुसार सन् २०२७ सम्म नेपाली बजारमा डलरको मूल्य १५०–१६० रुपैयाँको दायरामा पुग्न सक्छ, जसले सुनको मूल्य वृद्धिमा थप योगदान गर्नेछ।
३) वैदेशिक मुद्रा तरलता र आयात वृद्धि
नेपालको वैदेशिक मुद्रा सञ्चिति हाल २८.८८ खर्ब रुपैयाँ पुगेको छ, जुन करिब १६ महिनाको आयात धान्न पर्याप्त मानिन्छ । तर, सुन आयातमा तीव्र वृद्धि देखिएको छ । २०८१ /८२आर्थिक वर्षको पहिलो दुई महिनामा सुनको आयात ३.४२ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ११४.७ प्रतिशतले वृद्धि भएको हो । जसको मतलब, सुनको मूल्य बढ्नुमा बजारको माग मात्र कारकतत्व नभई आयात गर्दा थपिने खर्चहरु पनि मुख्य कारण हुन् ।
वैदेशिक मुद्रा तरलता र सुनको मूल्यबीचको सम्बन्ध कसरी छ ?
घरेलु वैदेशिक मुद्रा तरलताको सम्बन्ध अन्तर्राष्ट्रिय बजारसँग पनि जोडिएको छ । सामान्य रूपमा भन्नुपर्दा मुद्रा सञ्चिति कम हुँदा वा डलरको मूल्य बढ्दा सुन महँगो हुन्छ, भने मुद्रा सञ्चिति पर्याप्त हुँदा सुनको मूल्य स्थिर रहन्छ वा घट्छ। यसरी, वैदेशिक मुद्रा तरलता र सुनको मूल्यबीचको सम्बन्ध जटिल भए पनि असर स्पष्ट र प्रत्यक्ष देखिन्छ ।जसकारण नेपालमा सुनको मूल्य बढ्नुमा वैदेशिक मुद्रा तरलताले महत्वपूर्ण भूमिका खेल्छ किनभने जब देशमा विदेशी मुद्रा पर्याप्त हुन्छ, आयात–निर्यात सजिलै हुन सक्छ र सुन आयातमा अवरोध आउँदैन ।
भविष्यमा नेपालमा सुनको मूल्य कति पुग्न सक्छ ?
गत दुई वर्षमा नेपालमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ । २०८० कात्तिक २७ गते प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन २०८२ कात्तिक २८ गते दुई लाख ४९ हजार सात सय रुपैयाँ पुग्यो । यसरी हेर्दा दुई वर्षमा मात्रै नेपालमा सुनको मुल्य ९७.२५ प्रतिशतले बढेको छ । मूल्यवृद्धिमा मूलतः अन्तर्राष्ट्रिय कारक, नेपालका भन्सार तथा कर संरचना, र बजारको मनोविज्ञानले प्रभाव पारेको पाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको माग निरन्तर बढ्दै छ । विश्व बैंक र अन्य संस्थाहरूले गरेको पूर्वानुमानका अनुसार सन् २०२६ मा सुनको अन्तर्राष्ट्रिय मूल्य करिब ३,५७५ अमेरिकी डलर प्रतिऔंस र २०२७ मा करिब ३,३७५ अमेरिकी डलर प्रतिऔंस रहने अनुमान गरिएको छ । औंसलाई तोलामा रूपान्तरण गर्दा २०२६ मा सुन प्रतितोला करिब १,३४० अमेरिकी डलर र २०२७ मा करिब १,२६५ अमेरिकी डलर पर्ने देखिन्छ ।
२०२७ सम्म नेपाली बजारमा डलरको मूल्य १५०–१६० रुपैयाँको दायरामा पुग्ने विनिमय दर र नेपालका कर भन्सार संरचनालाई जोड्दा २०८४ साल (सन् २०२७) सम्म प्रतितोला सुनको मूल्य दुई लाख ८५ हजारदेखि तीन लाख ५० हजार रुपैयाँसम्म पुग्ने सम्भावना छ ।








