काठमाडौँ ।  नेपाल टेलिकमको नाफा पनि निरन्तर घट्दो क्रममा छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार टेलिकमले एक अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो नाफा गत आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ थियो । एक वर्षकै अन्तरमा टेलिकमले करिब २४ प्रतिशतले नाफा गुमाएको हो ।

यस अवधिमा टेलिकमको सञ्चालन आय सामान्य घटेको छ । प्रतिवेदन अनुसार पहिलो त्रैमासमा कम्पनीले आठ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिमा आठ अर्ब ६८ करोड एक लाख रुपैयाँ थियो ।

एक वर्षमा टेलिकमले छ लाख ७१ हजार रुपैयाँ सञ्चालन आम्दानी गुमाएको तथ्याङ्कले देखाउँछ । सञ्चालन आय भन्नाले टेलिकमले आफ्नो सेवा बिक्री गरेबापत आर्जन गरेको आम्दानी बुझाउँछ । यो आम्दानीमा टेलिकमले निक्षेपबापत आर्जन गरेको ब्याज जोडिँदैन ।

ब्याजसहितको कम्पनीको कुल आम्दानी पनि घटेको छ । पहिलो त्रैमासमा कम्पनीले नौ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५९ करोड २६ लाख रुपैयाँ ले कम हो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब छ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।