काठमाडौं । हरेक वर्ष मनाइने ग्लोबल डे अफ एक्शनका अवसरमा नेपालभरका अग्रपंक्तिमा रहेका समुदाय, युवा, नागरिक समाज संस्था , कार्यकर्ताहरू र सचेत नागरिकहरूले जलवायु न्यायको लागि सशक्त आवाज उठाएका छन् ।
कोपको बीचको साता पर्ने सप्ताहन्तलाई विश्वभर ‘ग्लोबल डे अफ एक्शन’ का रूपमा मनाइने गरिन्छ। मुस्ताङदेखि सप्तरीसम्मका समुदायहरू आफ्नो पीडा र माग सार्वजनिक गर्न सडकमा उत्रिएका हुन् ।
सन् २०२३ को अगस्टमा भीषण बाढी र डिब्रीमा थिचिएको मुस्ताङको कागबेनी समुदाय अझै क्षतिपूर्तिबिना विस्थापित जीवन बिताइरहेका छन्। वर्षा छायाँ क्षेत्र मानिने मुस्ताङमा आएको अनपेक्षित वर्षाले बस्तीमै ठूला मात्रामा डिब्री बगाएर पुर्याएको थियो। उनीहरूले कम्युनिटी एक्सेस टु लस एण्ड ड्यामेज फन्ड तथा जलवायु पीडितका लागि न्यायको माग दोहोर्याएका छन्।
यस्तै, सन् २०२१ को अक्टोबरमा परेको लगातार भारी वर्षाले तराईका सयौँ किसानको बाली बगाएको थियो। अन्न काट्न तयार पाखाभरीको धान नष्ट भएको तीन वर्ष बितिसक्दा पनि धेरै खेत आजसमेत बालुवाको तहले ढाकिएको छ। यसले जलवायु विपद्को दीर्घकालीन प्रभाव अझै समाप्त नभएको स्पष्ट पार्छ।
समुदायहरूसँग एकता जनाउँदै काठमाडौँ र बिराटनगरका युवाहरूले समेत नोक्सानी तथा क्षति कोष शीघ्र सञ्चालन गर्न तथा समुदायलाई प्रत्यक्ष पहुँच सुनिश्चित गर्न माग गरे। उनीहरूले जलवायु समाधानको नाममा ठूला निगमहरू र विश्व उत्तरी देशहरूले अघि बढाइरहेका “भ्रान्त समाधानहरू”लाई पनि खारेज गर्दै वास्तविक न्याय केन्द्रित प्रणाली परिवर्तनको आवश्यकता जोड दिए।
यही सन्देशसहित, कोप ३० का क्रममा ब्राजिलको बेलेम तथा विश्वका विभिन्न शहरहरूमा पनि सामूहिक आन्दोलन जारी रहनेछ। ग्लोबल डे अफ एक्शन विश्वभरका जनताको न्याय, समानता र मुक्तिका लागि भइरहेको साझा संघर्षको प्रतीक बनेको छ।







