गण्डकी । कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन् । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै ९ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।

एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका बिरुवाले चार वर्षको अवधिदेखि निरन्तर उत्पादन दिन थालेको र यस वर्षको भदौ, असोज र कात्तिकमा मात्र कागती बिक्रीबाट  नौ लाख आम्दानी गरेको कृषक लामिछानेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो लेमनका बिरुवाले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नभएपछि सबै बोट हटाएर सो स्थानमा सोना जातका बिरुवा रोपेको बताउँदै उनले भने ‘उत्पादन भएको कागती बिक्री हुँदैन कि भन्नु पर्दैन, यतिखेर बजारमा कागती प्रतिकिलो रु २०० देखि २५० का दरले बिक्री हुने गरेको छ ।’

ADVERTISEMENT

उमेरले ६५ काटेका कृषक लामिछाने परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रुपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको श्रोत बनेको बताए ।  बेगनासतालको जलाधार क्षेत्रमा पर्ने सो स्थानमा लिप्टिङ प्रविधिमार्पmत सिँचाइको राम्रो प्रबन्ध मिलाइएका कारण कागतीका बोटमा बाह्रै महिना फल लाग्ने गरेको बताउँदै उनले वार्षिकरुपमा रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिए ।

ADVERTISEMENT

कागतीको एउटै बोटमा वर्षमा एक क्वीन्टलसम्म फल्ने गरेकामा खुशी व्यक्त गर्दै उनले भने ‘यो तीन महिनाको अवधिमा दैनिक ४० देखि ५० किलो उत्पादन भएको थियो, कागतीको बोटमा कुनै पनि विषाधि प्रयोग गर्नुपरेको छैन, बजारमा अर्गानिक उत्पादनको महत्व बढेको छ ।’ पछिल्लो समय तातोपानी, चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागतीखेती सुरु गरेको दाबी गर्ने लामिछानेले भने ‘राज्यकातर्पmबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।’

ADVERTISEMENT

कागती अन्तरबालीका रुपमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानट जस्ता विभिन्न जातका फलफुलका बोटबिरुवा फष्टाएका छन् । परिक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ५०–६० वटा फल लागेको भए पनि सबै बाँदरले खाएको उनले बताए ।

यदी सरकारले किसानको फर्मबाट नै उत्पादित कागतीलगायत कृषिजन्य उत्पादन खरिद गर्ने व्यवस्था गरिदिए कृषक अझ बढी उत्साहित हुने थिए कृषक लामिछानेले भने ‘उत्पादित कागती पोखराका बजारमा सञ्चालित रेष्टुरेन्ट तथा तरकारी पसलमा  बिक्री गर्ने गरेको छु, कागती पु¥याउने र पैसा उठाउने समय फर्ममा लगाउन पाउने हो भने आम्दानी निश्चितरुपमा बढ्ने थियो ।’

कागतीको बोटबाट टिपेको फल बजारमा बिक्री गर्ने र पाकेर झरेका फल सङ्कलन गरेर पेलेर अमिलो उत्पादन गरेर बिक्री गरेर थप आम्दानी गर्दै आएको जनाउँदै उनले गतसाल ४८ माना अमिलो बिक्रीबाट ७२ हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले पकाएको अमिलो प्रतिमाना एक हजार ५०० र काचो रस प्रतिमाना  ५०० का दरले बिक्री गर्दै आएका छन् ।

साथै उनले अमिलो बनाएर निस्केको कागतीको छोक्रा, वनमारा, असुरो, भेली लगायतका विभिन्न बनस्पति सङ्कलन गरेर दुई हजार लिटरको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गरेका छन् । उत्पादिन मल प्रत्येक बोटमा राख्ने व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।

मुलुकमा वन क्षेत्रको विस्तारसँगै बाँदर र जङ्गली जनावरको आतङ्कले धेरै किसान खेतीबारी छाड्न बाध्य भएको वर्तमान अवस्थामा लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरिया जानकारी दिए ।