काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन नेपालमा हुने निर्देशक चाम्सले बताए ।
‘नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रमा उहाँको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो,’ उनले भने ।
निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बताए । चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।





