काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर घरमै राख्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर फ्याँक्न स्थानीयवासीले अवरोध गरेपछि महानगरले शुक्रबार सूचना जारी गर्दै फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो ।

स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर, कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नसमेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् । जसकारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ ।

तीन वर्षअघि काठमाडौंका मेयर बालेन्द्र साह बालेनले बन्चरेडाँडावासीसँग १८ बुँदे सहमति गरेका थिए । तर हालसम्म पनि एउटा पनि कार्यान्वयनमा ल्याउन नसकेपछि धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका स्थानीय मेयर बालेनसँग आक्रोशित भएका छन् । बालेनले फोहर व्यवस्थापनमा राजनीति गरेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

आफूले पहिले गरेको सहमति कार्यान्वयन गर्न नसकेपछि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि प्रभावित क्षेत्रका स्थानीयवासीसँग कसरी कुराकानी गर्ने भन्ने अन्योलमा देखिएका छन् ।