चितवन । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो ।

ADVERTISEMENT

बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए ।

काठमाडौंबाट पूर्वतर्फ जाने बीपी राजमार्ग पनि बाढीपहिरोका कारण अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग पनि अवरुद्ध भएपछि काठमाडौंबाट बाहिर जाने यात्रु समस्यामा परेका छन् ।

ADVERTISEMENT

मेची राजमार्ग पनि अवरुद्ध

बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् ।

मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।