पर्सा, जिराभवानी गाउँपालिका–७ सेढवा गाउँका ब्रतालुहरू छठ पर्वको मुख्य दिन अघिल्लो साँझदेखि नै छठ घाटमा पुगी पूजा तयारीमा जुटेका छन्। रातभर भक्ति, श्रद्धा र सुरक्षाबीच घाटमा बसोबास गर्दै उनीहरूले आज अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि बिहान कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएर पर्व समापन गर्ने तयारी गरेका छन्। सत्य, अहिंसा र सहानुभूतिप्रति मानवको रुचि बढाउने छठ पर्व तराईवासीहरूको साझा चाडका रूपमा देशभर उल्लासपूर्वक मनाइँदै छ। सूर्य उपासना परम्पराको अनौठो स्वरूप मानिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैलाई आराधना गरिन्छ, जुन संसारकै अद्वितीय परम्परा हो।
तराईका गाउँघरमा छठका लागि आवश्यक सामग्रीहरूको तयारी एक महिना अगाडि नै सुरु हुने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार महाभारतकालमा द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनी मिथिलाको विराटराज्यमा सूर्यदेवको आराधना गरेका थिए, सोही कालदेखि छठ पर्व मनाउने प्रचलन सुरु भएको विश्वास छ। आज सेढवाका घाटहरूमा दीप, प्रसाद र भजनसङ्गीतको गुञ्जनले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ।





