ललितपुर । ललितपुरको जावलाखेलमा १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२ सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानको आयोजनामा गएको असोज २९ गतेदेखि शुरु भएको प्रदर्शनी हिजो समापन भएको हो ।
मेला अवधिभर ३९ हजारभन्दा धेरैले अवलोकन गरेका र एक करोड ३३ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको आयोजकले जनाएको छ ।
मेलाको अन्तिम दिन हिजो झन्डै २८ लाख रुपैयाँ बराबरको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए ।
मेलामा विशेष गरी गोदावरी, सयपत्रीकोलगायत अन्य फूल तथा बोटबिरुवाको कारोबार भएको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए । बर्सेनि हुने मेलाका कारण व्यवसायी र उपभोक्ताबीच थप सम्बन्ध बिस्तार र उपभोक्ता पनि बढ्दै गएका व्यवसायीको अनुभव छ ।
आर्थिक मन्दी र राजनीतिक अवस्थाका बाबजूद पनि अबलोकनकर्ताको घुँइचोले आफूहरु उत्साहित भएको फ्यानका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले बताए।
प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माइ नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका फ्यानका महासचिव हिरामनी शर्माले जानकारी दिए ।








