काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले जेनजी आन्दोलनमा क्षतिपूर्ति दाबी गरिएका बिमामध्ये साढे २५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको शीघ्र दाबी भुक्तानी गर्ने रणनीतिअनुरुप हालसम्म क्षतिपूर्ति दाबी गरिएका २९१ वटा मध्ये २८८ वटा दाबीबापत २५ करोड ६० लाख ४९ हजार पाँच सय सत्तरी रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले बताए ।
ग्राहक हितलाई सदैव पहिलो प्राथमिकतामा राख्ने कम्पनीको आधारभूत मूल्यताअनुरुप बीमित ग्राहक महानुभावहरुलाई कठिन परिस्थितिमा भरपर्दो आर्थिक सहारा प्रदान गर्न उद्देश्यअनुरुप उच्च प्राथमिकताका साथ दाबी फछ्र्यौट गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले प्रतिकूल परिस्थितिमा आर्थिक सुरक्षाका लागि बीमाको महत्वपूर्ण भूमिका रहने हुँदा समयमै शीघ्र दाबी भुक्तानीका लागि कम्पनीले हरसम्भव प्रयास गरेको बताइन् । पारदर्शिता, समयमै दाबी भुक्तानी र उत्कृष्ट ग्राहक सेवालाई आधारभूत मूल्यताका रूपमा अंगालेको जानकारी दिँदै भविष्यमा अझ सरल, सहज र प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ ।











