वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड संकलन गरेको छ ।
कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँचथरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको छ । ‘यहाँको भन्सार आयातमा निर्भर छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ ।
यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रु छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ,’ उनले भने ।
फलाम तथा फलामबाट बनेका सामानबाट भने दुई अर्ब ५४ करोड अर्थात् ६ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन गरेको छ ।







