वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा कुल रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा करिब रू ६ अर्ब बढी मूल्यको सवारीसाधन र पार्टपुर्जा आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए। उहाँका अनुसार सवारीसाधन आयातमा आएको वृद्धिले राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पारेको छ।

भन्सार तथ्याङ्कअनुसार चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रू १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ। जबकि गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोड मूल्यका सवारीसाधन आयात हुँदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो।

ADVERTISEMENT

वीरगञ्ज नाका हुँदै चालु आवको पहिलो छ महिनामा रू ९३ करोड मूल्य बराबरका ४३४ वटा जीप, कार र भ्यान आयात भएका छन्। त्यसैगरी रू ४ अर्ब ५६ करोड मूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल (अन–एसेम्बल्ड) आयात गरिएको छ।

ADVERTISEMENT

यस अवधिमा रू १ अर्ब ६ करोड मूल्य पर्ने ३८० वटा ट्रक तथा मिनी ट्रक भित्रिएका छन् भने रू १ अर्ब २३ करोड मूल्य बराबरका १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रेलर आयात भएका छन्। साथै रू १ अर्ब ३६ करोड मूल्यका ४५६ वटा विद्युतीय जीप, कार र भ्यानसमेत आयात भएको भन्सार कार्यालयले जनाएको छ।

ADVERTISEMENT

सवारीसाधन आयातमा देखिएको यो वृद्धिले बजारको माग बढ्दै गएको संकेत गर्ने भन्सार अधिकारीहरूको भनाइ छ।