काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार निरंकुश ढंगले अघि बढ्ने संकेत देखिएको छ । विगतमा राजा ज्ञानेन्द्र शाहले शाही कू गरेपछि दलहरूलाई आन्दोलन, जुलुस, धर्ना गर्न रोक लगाएको थियो ।
शाही शासनलाई सम्झाउने गरी कार्की सरकारले पनि धर्ना र जुलुस गर्न रोक लगाएको छ । एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली आयोजना गर्ने घोषणा गरेलगत्तै जिल्ला प्रशासनले उक्त कार्यक्रममाथि रोक लगाएको छ।
युवा संघको कार्यक्रमबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार प्रकाशित भएलगत्तै काठमाडौं जिल्ला प्रशासनले अत्यन्त सूचनाका नाममा प्रशाशित सूचनामार्फत कुनै पनि र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनमा रोक लगाएको बताएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २५ गते कसैलाई पनि र्याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ।
‘अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड ९क० र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्थाबमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ,’ प्रमुख दिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली आयोजना गरिएको सार्वजनिक जानकारी दिएका थिए। राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनका लागि पनि र्यालीको आयोजना गरिएको बताउँदै उनले देशमा निराशा पैदा भएको अवस्थामा देश बनाउन युवाहरु प्रतिवद्ध रहेको बताए।
तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने युवा संघले जनाएको छ।









