काठमाडौं । आज असोज २३ गते ठीक एक महिना भयो, जब ‘जेनजी आन्दोलन’ का नारा सडकमा गुञ्जिए र गोलीहरूको आवाजले देश थरथर काँप्यो। अघिल्लो महिनाको २३ भदौ, संसद् भवन अगाडिको सडक भिड र हल्लामय थियो। रगत, नाराहरू, अनि सपना सबै त्यहीँ बगेका थिए।
ती दिनका साक्षी बनेका केही युवाहरू अझै पनि अस्पतालमा छन्। आन्दोलन त रोकिएको छ, तर उनीहरूको जीवन अझै अस्थिर छ। त्यो दिनहरूको पीडा अहिले चाडपर्वको बेला पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डभित्र जीवन्त छ।
आन्दोलनको पहिलो दिन सम्झिँदा २१ वर्षीय सुरेश पोखरेल अझै अवाक् हुन्छन्। ‘हामी संसद् भवन छिर्ने योजना बनाउँदै थियौंऽ’ उनी सम्झन्छन्, ‘अचानक गोली लाग्यो, अनि के भयो केही थाहा नै भएन, आँखा खोल्दा म अस्पतालमा थिएँ।’
उनको तिघ्रामा गोली लागेको छ। पाँचपटक शल्यक्रिया भयो। बोल्न, हिँड्न, सास फेर्न सबै कुरा फेरि सिक्नुपरेको छ। ‘दशैंमा सबैले रमाइलो गरे, म त बेडमै बसिरहेँ, नरमाइलो लाग्यो। आमा–बुबा रोइरहनु भयो,’ उनी भन्छन्, ‘२० हजारको सहयोग पाएँ, तर त्यो त लाज छोप्न दिइएको पैसा जस्तो लाग्यो।’
सुरेशले भने- ‘हामी माग लिएर सडकमा निस्केका हौं, अपराधी होइनौं। सरकार आएर फोटो खिच्छ, तर घाउमा मलम लगाउँदैन। परिवर्तन त कहाँ भयो र ? १ प्रतिशत पनि छैन।’
तर उनको स्वरमा आक्रोश मात्र छैन, योजना पनि छ। ‘निको भएपछि सबै घाइतेहरू भेला भएर फेरि निस्कने तयारीमा छौं,’ उनी भन्छन्, ‘यसपालि हामी चुप लागेर बस्दैनौं।’
२५ वर्षीय राकेशकुमार महतो आन्दोलनको पहिलो दिनमा गोली लागेर ढलेका थिए। गोली मेरुदण्डमा लागेको असरले दुबै खुट्टा चल्न छोडे। ‘डाक्टरले भनेका छन्- अब उठेर हिँड्न सक्दैनौ,’ उनी भन्छन्, ‘तर मेरो मन अझै सडकमा छ।’
यसपालिको दशैं उनीका लागि पीडाको पर्व बन्यो। ‘ममी मेरो अवस्था देखेर बिरामी हुनुभयो, दुईचोटि बेहोस हुनुभयो,’ राकेश भन्छन्- ‘मलाई ज्यान गयो भने पनि मतलब थिएन, देश बदलियोस् भन्ने थियो। तर जुन सपना देख्यौं, त्यो त धुम्मिएको छ। परिवर्तन होइन, पुरानै चाल चल्दैछ।’ तर अन्त्यमा उनी दृढ बन्छन्- ‘पुनः आन्दोलन भयो भने म फेरी सडकमा उत्रन्छु। फेरि गोली खानु पर्यो भने पनि देशका लागि तयार छु।’
२५ वर्षीय मदन कार्की मिनभवन अगाडि आन्दोलनमा थिए। गोली उनको छाती र पाखुरामा लाग्यो। अहिले पनि पट्टि बाँधिएको छ, तर उनले हिम्मत हारेका छैनन्।
दशैं उनका लागि खल्लो रह्यो। ‘घरमा टीका लगाउन पनि पाइएन, दुःख त धेरै भयो,’ उनी भन्छन्, ‘तर कम्तीमा हामीले यो देशमा युवा बोल्न सक्छन् भन्ने डर हटाएका छौं।’ उनको दृष्टिमा आन्दोलनले जनतालाई आफ्नो शक्ति बुझाएको छ। ‘अब नेपालीहरू बुझ्न थालेका छन्, देशको हकका लागि बोल्नुपर्छ,’ उनी भन्छन्।
हात गुम्यो, तर आत्मा अझै बलियो छ
२९ वर्षीय सञ्जीव सापकोटा झापामा आन्दोलनको दोस्रो दिन सिलिन्डर विष्फोट हुँदा उनको दाहिने हात काट्नुपर्यो। उनले अस्पतालमा मुस्कान बाँड्दै समय बिताउँछन्। ‘अहिले पनि फोनबाट काम गर्छु, अरू बिरामीसँग कुरा गर्छु,’ उनी भन्छन्, ‘जीवन गाह्रो छ, तर सोच सकारात्मक राख्नुपर्छ।’
सञ्जीवको शब्दहरूमा निराशा होइन, सन्देश छ- ‘शरीर अपांग भयो भनेर केही बिग्रेको छैन। मान्छे आफ्नो सोचले अमर हुन्छ। हक–हितका लागि लड्नुपर्छ। म अर्को पटक आन्दोलनमा आउन सक्छु, मैले हार मानेको छैन।’
उनी पनि वर्तमान सरकारप्रति कटाक्ष गर्न छुटाउँदैनन्, ‘देशमा परिवर्तन भएको जस्तो देखिए पनि ‘बाघको छालामा स्यालको रजाइँ’ जस्तै छ। तर म मान्दिनँ कि हाम्रो बलिदान व्यर्थ भयो। साँचो परिवर्तन तब हुनेछ, जब घाइतेका चिच्याहट सुन्न सक्ने सरकार बन्छ।’
संख्याभित्रको पीडा
राष्ट्रिय ट्रमा सेन्टरका अनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका १९२ जनामध्ये हाल १८१ जना डिस्चार्ज भइसकेका छन्। बाँकी ११ जना अझै पनि अस्पतालमै उपचाररत छन्। तीमध्ये कतिपयको अवस्था सुधारोन्मुख छ, तर धेरैका शरीरभित्रका घाउ र मनभित्रका डर अझै बाँकी छन्। एक महिना बित्दा राजनीतिक हल्ला र सार्वजनिक बहस जति भए पनि, ट्रमा सेन्टरका ती बेडहरुमा बसिरहेकाहरूको यथार्थ अपरिवर्तित छ। उनीहरुको शारीरिक घाउले समय माग्छ, तर उनीहरुको आवाजले तत्काल जवाफ र ठोस कदमको माग गर्छ।

शब्द र तस्बिर : ममुन केसी/नेपाल फोटो लाइब्रेरी






