– ममुन केसी
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती प्रदेशिक कार्यालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको ‘सुपथ मूल्य पसल २०८२’ दशैं, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ। मूल्यवृद्धि र अनिश्चित बजार परिस्थितिका बीच यस वर्ष उपभोक्ताले यहाँबाट राहत पाएको महसुस गरेका छन्।
बागमती प्रदेशको प्रदेशिक कार्यालय प्रमुख धर्मकुमारी राजवंशीका अनुसार सुपथ मूल्य पसलको मुख्य उद्देश्य चाडपर्वमा उपभोक्तालाई सहज मूल्यमा खाद्यान्न उपलब्ध गराउनु हो। ‘चाडपर्वको मौकामा कतिपय व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउने गर्छन्। त्यसलाई सन्तुलनमा ल्याउँदै आमउपभोक्तालाई राहत दिनु नै हाम्रो उद्देश्य हो,’ उनले भनिन् ।
राजवंशीका अनुसार यस वर्ष ५३ वटा वस्तु सुपथ मूल्य पसलमार्फत वितरण भइरहेको छ। चामलमा प्रति केजी पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, मसालामा १० रुपैयाँ र ऐतिहासिक (रैथाने) बालीहरूमा १० रुपैयाँसम्म छुट दिइएको छ।
यो वर्ष जेनजी आन्दोलनका कारण भाटभटेनीजस्ता ग्राहक आकर्षण गर्ने मार्टहरू पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपभोक्ताको आकर्षण सुपथ मूल्य पसलतर्फ बढेको राजवंशीले बताइन्। ‘बाहिरी ठूला बजारमा भन्दा यहाँ उपभोक्ताले बढी विश्वास गरेका छन्। दैनिक भीड पनि बढिरहेको छ,’ उनले भनिन्।
कम्पनीले अहिलेसम्म ३३ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न भण्डारण गरिसकेको र कुनै ठूलो अभाव नदेखिएको उनले जानकारी दिइन्।
सुपथ मूल्य पसललाई अझ प्रभावकारी बनाउन अनलाइन पोर्टल र मोबाइल एपमार्फत सामान खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ। ‘पाँच हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा निःशुल्क होम डेलिभरी दिइन्छ। गुणस्तरमा कुनै फरक छैन,’ राजवंशीले भनिन्।
हाल थापाथली, रामशाहपथ, नख्खु र दक्षिणकालीमा पसल सञ्चालन भइरहेको छ भने, नयाँ शाखा गोदावरीमा सुरु भइसकेको छ। तिहारसम्म चाँगुनारायण र रसुवामा समेत पसल विस्तार गर्ने योजना रहेको उनले बताइन्।
सुपथ मूल्य पसलमा किनमेल गर्न आएका तूरंगबहादुर शाक्यले दैनिक आवश्यक वस्तु सजिलै पाएको बताए। ‘दाल, गेडागुडी, चामल, बिस्कुटदेखि घिउ र चियासम्म धेरै विकल्प छन्। बाहिरको बजारमा दाल १७० पर्छ भने यहाँ १६३ मात्रै छ। फरक निकै छ,’ उनले भने। उनका अनुसार यस्ता पसलले दैनिक खर्चमा राहत दिने भएकाले वर्षभरि नै सञ्चालन गर्नुपर्छ।
त्यस्तै, उपभोक्ता कल्पना थापाले यहाँको चामल सस्तो मात्र नभई स्वादिष्ट पनि भएको अनुभव सुनाइन्। ‘यहाँ किनमेल गर्न धेरै सजिलो छ। भीड व्यवस्थित छ, प्रोडक्टका विकल्प पनि प्रशस्त छन्। यस्तो सुविधा वर्षभरि भए हामी गरीबलाई अझ सजिलो हुन्छ,’ उनले भनिन्।
चाडपर्वको भीडभाडमा सामान्य उपभोक्ता सधैं महँगीको दबाबमा पर्छन्। तर, यस वर्षको सुपथ मूल्य पसलले मूल्य सन्तुलन गर्दै राहत दिन सफल भएको देखिन्छ।
अनलाइन सुविधा र गुणस्तरमैत्री वितरणले उपभोक्ताको विश्वास बढाएको छ। उपभोक्ताले व्यक्त गरेझैँ, यो पहल चाडपर्वमा मात्र होइन, वर्षभर निरन्तर सञ्चालन भए अझ प्रभावकारी हुने देखिन्छ।







