– प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौं । बुढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको एक कुनामा भान्सा । अर्को कुनामा पलङ, पलङसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्ष अगाडि बितेकी श्रीमतीसँगको तस्बिरहरू । यी कोठा भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन र २४ गते गोली लागी भर्खर तंग्रिँदै गरेको पर्वतको कुस्मामा ३१ वर्षीय अनिल परियारको हो ।

सिलाइकटाई पेसामा प्रायः व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेनजी आन्दोलन किन भयो के कारणले भयो, को हुन् र के हो जेन जी ? त्यसको विषयमा केही जानकार थिएन । त्यो आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका साना विद्यार्थी भाइहरुको माया र त्यो क्रूरताबाट रिस उठेपछि उनले २४ गतेको आन्दोलनमा सहभागी हुने निर्णय गरे ।

आफूसँग टाढाटाढा आन्दोलनमा जान सवारीसाधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा उनी पनि सहभागी भए, आन्दोलनकै क्रममा गोली चल्यो । गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो, उनी अचेत अवस्थामा पुगे ।

डेढ वर्ष अगाडि श्रीमती गुमाएका अनिलले दुःखसुख, मजदुरी गरी कोठाभाडा र आफ्नो एक मात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादीक्षा दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगेपछि दैनिक घर चलाउनसमेत उनलाई गाह्रो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनी होसमा आउँदा शिक्षण अस्पताल महरागन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आईसीयुमा थिए । २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको खबर भने पहिले नै फैलिसकेको रहेछ ।

भाउजू संगीता परियारलगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले तपाईको मान्छे हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन जानकारीसमेत दिएको संगीताले सुनाइन् । निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८ः३० बजे तिर अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैले फोन गरे र आफूलाई भर्खर आईसीयुबाट वार्डमा सारेको र अहिले अवस्था ठीक भएको जानकारी दिए । चार दिने अस्पताल बसाइपछि उनी भदौ २९ गते डिस्चार्ज भए ।

गोलीले मुटुमा समेत असर गरेपछि ओपनहर्ट सर्जरी गरी आईसीयुमा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए आज यो अवस्था नआउन पनि सक्ने डा. अनिल भट्टराईले बताए । ‘हामीकहाँ ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्युसमेत हुन सक्थ्यो,’ उनले भने ।

भाउजू संगीता परियारको हेरचाहमा अहिले भने अनिलको स्वास्थ्य सुधार हुँदै आएको छ, तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले कसरी घर चलाउने, छोराको पढाइ, पालनपोषण कसरी गर्ने भन्ने ठूलो चिन्ता परेको छ ।

अहिले अन्तरिम सरकारले आफ्नो काम कारबाही अगाडि बढाएको छ । जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि आयोगसमेत गठन गरिसकेको अवस्था पनि छ, आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नेदेखि आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

तर सोही आन्दोलनमा अनिल परियार जस्तै गोली खाएका, घाइते भएकाहरुका लागि सरकारले केही ठोस निर्णय गर्नसकेको छैन । घाइतेहरुले उचित सहयोग र सहायता नपाएका कारण असोज ५ गते घाइतेहरुले सिंहदरबार परिसरमा धर्नासमेत दिएका थिए ।

आफू जेनजी पनि नभएको, आफू सरकार पक्ष पनि नभएको, तर निर्दोष विद्यार्थीको गोली हानी गरिएको हत्या, देशमा भएको भ्रष्टाचार, जसका कारण नेपालीहरु विदेशिनुपरेको अवस्थाले अनिललाई पनि पिरोलेको थियो । अब नयाँ नेपाल, परिवर्तन र सहज तरिकाले देशमै बस्ने र काम गर्ने अवस्था आओस् उनी यही चाहन्छन् ।