काठमाडौं । मन्त्री बन्ने लोभमा अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा.संगीता कौशल मिश्रले दुवै पद गुमाउने भएकी छन् ।
मन्त्री बन्ने लोभमा सचिवबाट राजीनामा दिएकी मिश्रलाई प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्यमन्त्री सिफारिस गरेकी थिइन् । मिश्रसहित पाँचजनाको नाम राष्ट्रपति शीतल निवासमा पठाइएको थियो । तर राति नै राष्ट्रपति कार्यालयमा फोन गरेर ‘होल्ड’ गर्न भनिएको थियो । सोमबार बिहानै मिश्रको नाम मन्त्रीको सूचीबाट काटिएको स्राेतले बतायाे ।
मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा विभिन्न भ्रष्टाचार मुद्दा रहेकाले आज उनको नाम काटेर चारजनाको नाम मात्र पठाइएको छ । मिश्र पहिलाे महिला स्वास्थ्यमन्त्री बनेर इतिहास रच्ने दाउमा थिइन् ।
अख्तियारले मिश्रविरूद्ध छानबिन गरिरहेकाले स्वास्थ्यमन्त्रीमा उनको नियुक्ति रोकिएको हो । अब महावीर पुन, अनिलकुमार सिन्हा, मदन परियार र जगदीश खरेल मात्रै आज मन्त्री नियुक्त हुने भएका छन् ।
मिश्रको नाम लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा बसेर अकूत कमाउने कर्मचारीका रूपमा लिइँदै आएको थियो । जुनसुकै स्वास्थ्यमन्त्री बने पनि उनकै वरिपरि घुमेर आफ्नो प्रभाव देखाउँथिन् । अघिल्लो स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा आफूलाई स्वास्थ्य सचिव नबनाएको भन्दै उनी घरमै बसेकी थिइन् । ११ तहकाे बढुवामा पनि उनले कागजात कीर्ते पेस गरेकाे मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
केही दिनअघि मात्रै उनले मन्त्रालयमा हाजिर गरेकी थिइन् । मिश्र चार अर्बको स्वास्थ्य उपकरण खरिद प्रकरणमा मुछिएका हुन् । उनीमाथि अहिले अख्तियारले छानबिन गरिरहेको छ ।









