काठमाडौँ । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाले आज विज्ञप्तीमार्फत सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सातजना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ । एकजना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।
रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुईजनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ ।





