काठमाडौं । जेनजीको आन्दोलन काबुभन्दा बाहिर गएको देखिएको छ । सोमबार नागरिक आन्दोलनमा राज्यले १९ जना निहत्था युवाको हत्या र पाँच सयभन्दा बढीलाई गोली हानेर घाइते बनाएको विरोधमा देशमा आन्दोलनको डढेंलो फैलिएको हो ।
बिहानैदेखि जेनजी मात्र होइन, तिनका अभिभावकसमेत स्वतस्फुर्त रूपमा सडकमा ओर्लिएका छन् । जिल्ला जिल्लामा सडक प्रदर्शन र नेताहरूको घरमा आगजनी र ढुंगामुढा भइरहेको खबर आएका छन् । सडकमा आन्दोलनकारीको संख्या थपिँदै जाँदा सुरक्षाकर्मी पातलिँदै गएको छ ।
सडकमा सुरक्षाकर्मी पातलिँदै जानु र प्रदर्शनकारीले नियन्त्रणमा लिने अवस्था आउनु भनेको आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको पुष्टि हुनु हो । हिजो मात्र जेनजीको आन्दोलन थियो । तर मंगलबारदेखि आफ्ना सन्तान गुमाएका र अस्पतालमा उपचार गरिरहेका परिवारसमेत आन्दोलित भएका छन् । जसले गर्दा सम्भावित ठूलो दुर्घटनातर्फ मुलुक गइरहेको देखिएको छ ।
प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म जेनजीको आन्दोलनलाई सुनुवाइ गर्न चाहेका देखिएका छैनन् । यसले ढिलोचाँडो उनी र उनकै पार्टी एमालेलाई क्षति पुग्नु हो । सत्ता साझेदार दल कांग्रेसका केही मन्त्रीले राजीनामा दिइसकेका छन् । केहीले दिने तयारी गरिरहेका छन् । कांग्रेसको आजै बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जेनजीसहितको सरकार गठनका लागि आह्वान गरिसकेका छन् । जेनजीले पनि नयाँ सरकार गठन हुनुपर्ने माग गरेका छन् । तर अहिलेसम्म जेनजी आन्दोलनको नेतृत्व कसले लिने भन्ने अलमल देखिएको छ । धेरैले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनलाई नेतृत्व लिन दबाब दिइरहेका छन् । तर बालेनले मुख खोलेका छैनन् ।











