काठमाडौं । ‘फ्रिडम अफ स्पीच ब्याण्ड’ गरेर सूचनाको हकमाथि बन्देज लगाइएको भन्दै सोमबारसडकमा आउने उद्घोष गरेका जेनंजी पुस्तामा चैत १५ को तीनकुने घटना दोहोरिने त्रास देखिएको छ ।

युवाहरुले काठमाडौँको माइतीघर मण्डलासहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्ने भनेका छन् । कुनै राजनीतिक विचार, दल र नेताविरुद्ध नहुने भनिएको प्रदर्शनमा उत्तेजित नहुन, अमर्यादित नारा नलगाउन र तोडफोडमा नउत्रन सबैलाई सूचित गरिएको छ ।

कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेनजी पुस्ताले भोलि देशैभर एकैसाथ आन्दोलनको घोषणा गरेको हो । संगठित रूपमा कुनै संस्थालाई आयोजक बनाएर नभई युवाहरू स्वतस्फुर्त सडकमा आउन लागेका हुन् । सामाजिक सञ्जाल टिकटकमा त्यससम्बन्धी सूचना भाइरल छ । तर तीनकुने घटनाका डिजाइनर नै सोमबारको आन्दोलनमा पसेर बबाल मच्चाउने संकेत देखिएको छ ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई जेनजी पुस्ताको आन्दोलनलाई मोहरा बनाउने तयारीमा जुटेका छन् । तीनकुने प्रकरणमा केही महिना जेल र हिरासत बसेर एक महिनाअघि थुनामुक्त भएका उनी अब अर्कैखाले आन्दोलनको रणनीतिमा लागेको बताइएको छ । राजा र राजसंस्थाप्रति मोहभंग भएको बताउन थालेका प्रसाई भ्रष्टाचार र फेसबुकमाथिको प्रतिवन्धविरुद्धको नारा लिएर सडकमा ओर्लिने तयारीमा रहेको बुझिन्छ । जेनजी पुस्तालाई फेर समाएर आन्दोलन हुँडल्ने रणनीतिमा रहेको उनकै अभियानमा आवद्ध सदस्यहरूले खुलाएका छन् ।

प्रसाईको विगत हेर्दा पनि जे गर्दा भीड उरालिन्छ त्यही गर्दै आएको देखिन्छ । सुरुमा उनले तराई मधेशबाट सहकारी पीडित महिलाई काठमाडौँ उतारेर ऋण मिनाहा अभियान चलाएका थिए । त्यसबाट पार नलागेपछि राजा फर्काउनेतिर लागे । अब त्यता पनि भविष्य नदेखेपछि जेनजी पुस्ताको नाममा सडकमा आगो बालेर स्वार्थको रोटी सेक्न उद्यत रहेको अनुमान गर्न सकिन्छ ।

बंगलादेश र श्रीलंका मोडलको आन्दोलन भन्दै टिकटकमा राखिएका एउटै भिडियोमा मिलियन भ्युज गएको छ । यो देखेर लोभिएका प्रसाई आन्दोलनको नेतृत्व आफूले गर्ने योजनामा छन् ।