काठमाडौं । काठमाडौंको कालिका मार्गस्थित नेपालयाको आर–सालामा शुक्रबार दिउँसो नयाँ साहित्यिक यात्रा सुरु भयो। ‘कलम कनभर्सेशन’ नाम दिइएको मासिक संवाद श्रृंखलाले पहिलोपटक आफ्नो ढोका खोलेको हो।

कथा, किताब, सिर्जनशीलता र साहित्यलाई केन्द्रमा राखेर सुरु गरिएको यस थलोले नेपाली लेखन र प्रकाशनबारे नयाँ बहस चलाउने लक्ष्य लिएको छ।
उद्घाटन सत्रमा मार्टिन चौतारीका इतिहासकार र सम्पादक प्रत्युष ओंटा मुख्य वक्ताका रूपमा उपस्थित भए भने पत्रकार तथा लेखक अनिश घिमिरेले संवाद सञ्चालन गरे।

ADVERTISEMENT

भएको संवाद केवल पुस्तक र प्रकाशनको चौरस सीमामा अडिएको थिएन। ओंटाको भनाइमा लेखन अझै पनि “सत्य बोल्ने साहसिक माध्यम” हो, विशेषगरी अहिलेको भ्रामक सूचनाले भरिएको समयमा। उनले काठमाडौं बाहिर शैक्षिक प्रकाशन किन स्थिर छ, त्रिभुवन विश्वविद्यालयसँग किन आफ्नै प्रेस छैन, राज्य–निजी दुवै क्षेत्रले प्रकाशनलाई किन उपेक्षा गरे जस्ता ज्वलन्त प्रश्नलाई कठोर ढंगले उठाए।

ADVERTISEMENT

उनको जोड ‘सम्पादक’ नामक अदृश्य पात्रतर्फ पनि थियो। “लेखनलाई धारिलो बनाउने र अनुसन्धानलाई विश्वसनीय बनाउने शक्ति सम्पादकको हातमा हुन्छ,” उनले भने। विद्यार्थीलाई अनुसन्धान तालिम दिनुपर्ने, गुणस्तरीय प्रकाशनका लागि संस्थागत ढाँचा आवश्यक पर्ने कुरा उनले बारम्बार स्मरण गराए।
सभाहलमा प्रश्न सोध्ने हातहरू एकपछि अर्को उठिरहेका थिए। युवा पुस्तादेखि प्रकाशनमा संलग्न पुराना अनुहारसम्मले आफ्ना जिज्ञासा पोख्दा माहोल अझै घनीभूत हुँदै गयो। कसैले निजी प्रकाशकसँगको कठिनाइबारे प्रश्न गर्‍यो, कसैले राज्यको उदासीनताबारे। प्रत्येक प्रश्नले नयाँ बहस खोल्यो, र प्रत्येक जवाफले दर्शकलाई सोच्न बाध्य बनायो।
यो श्रृंखला आर्या चन्द, अनिश घिमिरे, रीवा खनाल, संगम खड्का र संस्कृति पोखरेलको संयुक्त पहलमा सुरु गरिएको हो। उनीहरूले यसलाई मासिक रुपमा निरन्तरता दिने बताए।
पहिलो सत्रले दिएको ऊर्जा र सहभागिताले स्पष्ट देखायो—‘कलम कनभर्सेशन’ केवल अर्को कार्यक्रममा सीमित हुने छैन। यो अब नेपाली साहित्य र प्रकाशनबारे गहिरो बहस हुने खुला मञ्च बन्ने संकेत देइसकेको छ।