काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रसुवागढी सुक्खा बन्दरगाह एकाएक बाढीले बगाएपछि उक्त नाका संचालनमा आउने–नआउनेमै अन्यौलता छाएको छ ।
गत असार पहिलो साता रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुलसँगै नेपाल र चीनतर्फको सडक, नेपालतर्फको सुक्खा बन्दरगाहलगायतका संरचनाहरु बगाएको थियो ।
लामो समयदेखि भूकम्प, कोरोना, चिनियाँ नाकाबन्दीलगायतका कारण ओझेलमा पर्दै आएको नेपाल चीनबीचको उक्त ब्यापार नाका पूर्ण संचालनको अन्तिम तयारीमा थियो ।
नेपालमा हुने कुल आयात व्यापारको ४ प्रतिशत हिस्सा ओगट्ने यो नाकाबाट गत आर्थिक वर्षमा मात्रै ८५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
चीनतर्फबाट नेपालमा वस्तु आयात र निर्यातका लागि सबैभन्दा महत्वपर्ण मानिएको उक्त नाका नै बाढीले बगाईँदिँदा उत्तरी नाकाबाट हुने निर्यात व्यापार पनि अप्ठ्यारोमा परेको छ ।
खासगरी उत्तरी नाका रसुवागढी र तातोपानी नाकाबाट आयात हुने भएपनि निर्यात व्यापार भने रसुवागढी नाकाबाट मात्रै भएको देखिन्छ ।
यद्यपी यो नाका संचालनका लागि चीनतर्फबाट बाटो र पुल निर्माणको काम धमाधम भइरहँदा नेपालतर्फ भने काम सुस्त छ । बाढीले मितेरी पुल र सडकसँगै बन्दरगाह नै बगाएको २ महिना वितिसक्दा पनि नेपाल भने चीनतर्फको मुख ताकेर बसेको देखिन्छ ।
यसअघि चीनले नेपालतर्फको बन्दरगाह नै अब त्यहाँ उचित नहुने भन्दै नेपाललाई मौखिक सुझाव दिएपछि नेपालले बन्दरगाह सार्नेगरी अध्ययनको तयारी पनि गरेको थियो ।
तर, एकाएक अब चीन र नेपालबीच कुटनीतिक वार्ता र छलफलपछि मात्रै बन्दरगाहलगायतका काम अघि बढाउन सकिने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।
बाढी आईरहने र पहिरोको पनि खतरा हुने भन्दै चिनियाँ पक्षले नेपाललाई उक्त बन्दरगाहका लागि उपयुक्त स्थान अन्यत्र खोज्न सुझाव दिएको थियो ।
सोही सुझावअनुसार समितिले पुरानो बन्दरगाहको सट्टा नयाँ बन्दरगाह निर्माणका लागि उचित स्थान खोज्न एक कमिटि गठन गरी सुझाव लिने काम गरेपछि अहिले नेपाली पक्ष पुनः पछाडि सरेको छ ।
रसुवागढी नाकाबाट नेपालले जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, तयारी पोशाक, गार्मेन्ट उद्योगका लागि कच्चा कपडा, गाडी, खाद्यान्नमा ओखर, लसुन, स्याउलगायतका वस्तुहरू आयात गर्छ ।
चाडपर्वको समयमा विद्युतीय सामग्री, ड्राइफ्रुट्सजस्ता वस्तुहरूको आयात यो नाकाबाट उल्लेख्य हुने भएपनि नेपाली पक्षको उदासिनताले यसपल्ट दशैंका लागि आवश्यक सामग्रीहरु ल्याउनै कठिन परिरहेको व्यवसायीहरु बताउँदै आएका छन् ।
यद्यपी यो नाकामा छाएको अन्यौलताका कारण दशैं र तिहारअघि भने यो नाका संचालनमा आउने अवस्था छैन ।






