जुम्ला । जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् ।
नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने किसानको भनाई छ ।
विसं २०६२ मा केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरे । निर्यातका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार गरेर स्याउ बङ्गलादेश पठायो ।
जुम्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोविन्दबहादुर शाही, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउ पु¥याउने उद्देश्यले भारत हुँदै बङ्गलादेश निर्यात गरेका थिए ।
शाहीका अनुसार सुर्खेतबाट काठका पेटी बनाएर विराटनगर पठाएको र त्यहाँका अर्का व्यापारीले भारतको फूलबारी मार्ग हुँदै जुम्ली स्याउ बङ्गलादेश पु¥याइएको थियो । केही वर्षसम्म बङ्गलादेश पठाइए पनि लामो समयसम्म टिक्न सकेन ।
जुम्लाको हिमा गाउँपालिका–३ का स्याउ किसान गोपाल रोकाया जुम्लाको स्याउलाई विदेश पठाउने योजना अगाडि बढाउन सरकारी निकायसँग आग्रह गर्छन । आफूहरूले उत्पादन गरेको स्याउ जुम्लाको शीतभण्डारमा राख्ने गरेको बताउँदै अब अन्तर्राष्ट्रिय बजारका विषयमा सरकारले सोचिदिनुपर्ने उनको माग छ ।
जुम्लाको स्याउ बङ्गलादेश गएको जानकारी भए पनि निरन्तरता नभएकाले त्यसमा प्रदेश तथा सङ्घीय सरकारले वातावरण बनाइदिन आग्रह गरे । गुठीचौर गाउँपालिका–५ निवासी स्याउ किसान मीनबहादुर भण्डारी अन्तर्राष्ट्रिय बजारका लागि आफू लागि परेको बताए ।
भण्डारीले गुठीचौर एग्रोफार्म रहेको जुम्लाकै सबैभन्दा ठुलो ४० हजार बिरुवा रोपेको बगैँचामा ९९ प्रतिशत स्याउ फलेको जानकारी दिए । उनले स्याउ अब भारत निकासी गर्ने बाटोको खोजीमा रहेको जानकारी दिए ।
परीक्षण तथा कानुनी आधार राज्यले छिट्टै तयार गर्न आवश्यक रहेको उनी बताउछन् । भण्डारीका अनुसार निर्यातका लागि नेपाल सरकारसँग पहल पनि भइरहेको छ । विदेश पठाउने आधार सरकारले तयार गरिदिएमा जुम्ली स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने उनको विश्वास छ ।








