काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रांगणमा अहिले फरक माहोल छ। नेपाल शाकाहारी संघले आयोजना गरेको ‘अहिंसा महोत्सव नेपाल’ शुक्रबारदेखि सुरु भएको छ । महोत्सव शनिबारसम्म चल्नेछ ।
महोत्सवले शाकाहार, भेगान जीवनशैली र करुणामुखी सोचलाई एकै ठाउँमा ल्याएको छ। प्रवेशद्वारमै ‘पशु बलि तथा पशु हत्या निषेध सचेतना अभियान” लेखिएको पर्चा हातमा थमाइन्छ । त्यो पर्चाले नै महोत्सवको मुख्य सन्देश स्पष्ट गर्छ– जीवनका प्रत्येक अभ्यासमा अहिंसा र करुणालाई अपनाउने।
महोत्सवमा विभिन्न स्टल र प्रदर्शनी राखिएका छन्। प्राकृतिक सफाइका उपाय देखाउने स्टलदेखि ध्यान अभ्यासबारे जानकारी दिने कक्ष, पशु अधिकार र उद्धारका अभियान, पुस्तक बिक्री, इको आर्ट एक्जिबिसन र भेगान खानाका स्वाद चखाउन पाइने ठाउँसम्म सबैलाई केही न केही देख्न र बुझ्न मिल्छ। तर यी सबै प्रयासको अन्तिम सार एउटै हो– हिंसारहित जीवनशैली सम्भव छ ।
उत्सवमा घुम्ने जो-कोहीले देख्छन्, यो केवल उत्पादन वा परिकारको मेला मात्र होइन, यो चेतना, जीवनशैली र मूल्यहरूको प्रदर्शनी पनि हो भन्ने ।









