काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चारजनाविरुद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चारजनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । मुद्दा दर्ता हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उनीहरूको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने तथा साधारण तारेख वा धरौटीमा छाड्नेमध्ये एक आदेश आउने छ ।

राम शाहीको मृत्यु भएपछि गत २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए ।

आधा शव जल्दै गरेको अवस्थामा जीवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको बताइएको छ । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिएको बताइएको छ । यसरी उनीहरूले टाउकाको हड्डी बेचेको आरोप छ ।