काठमाडौं । नेपाल भ्रमणमा रहकी भियतनामी उपराष्ट्रपति भो थिन आन सुआनले आइतबार उच्च राजनीतिक भेटवार्ता गरेकी छन् । शनिबार नेपाल आइपुगेकी उनले आइतबार उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आजै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भियतनामी उपराष्ट्रपति सुहानले आज बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग होटल याक एण्ड यतिमा भेटवार्ता गरेकी थिइन् । सोही होटलमा उनको सम्मानमा आयोजित दिवाभोजपछि भियतनामी उपराष्ट्रपति १ बजे आफू बसेको होटल सोल्टी फर्केकी थिइन् ।
दिउँसो साढे २ बजे उनी सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी थिइन् । करिब एक घण्टाको भेटवार्तापछि पुनः होटल सोल्टी जाने र ४ बजे काठमाडौंमा रहेको भियतनामी समुदायसँग अन्तरक्रियामा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
अपरान्ह ५ बजेपछि नेपाल र भियतनामबीच कूूटनीतिक सम्बन्ध कायम भएको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा होटल सोल्टीमा नै विशेष कार्यक्रम राखिएको छ । कार्यक्रमपछि सोही होटलमा आयोजना गरिने रात्रिभोज कार्यक्रममा सहभागी हुने बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट, काठमाडौं र ललितपुरका केही सांस्कृतिक र ऐतिहासिक सम्पदा क्षेत्रको भ्रमणपछि उनी भोलि बैंकक हुँदै स्वदेश फर्कने कार्यतालिका छ । तर उनको लुम्बिनी भ्रमण तालिका भने छैन ।












