काठमाडौं । गण्डकी प्रविधि प्रतिष्ठानको पूर्वाधार विकासका लागि नेपाल र दक्षिण कोरियाबीच सम्झौता भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको पूर्वाधार विकासका लागि बुधबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र दक्षिण कोरियाका राजदूत पार्क ताई यङले सम्झौतामा हस्ताक्षर गरेका छन् । पूर्वाधार विकास कार्यान्वयनका लागि नौ मिलियन अमेरिकी डलर (नेपाल रुपैयाँ सवा एक अर्ब बराबर) को अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

ADVERTISEMENT

कोरिया सरकारको तर्फबाट परियोजना कार्यान्वयन गर्ने निकाय कोइका हुनेछ र नेपाल सरकारको तर्फबाट गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानसँगै गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय रहनेछ। परियोजना ३१ डिसेम्बर २०३० सम्ममा सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

परियोजनाको मुख्य उद्देश्य नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम नीति र १६औं आवधिक योजनाअनुरूप २१औं शताब्दीको घरेलु तथा विश्वव्यापी आवश्यकता पूरा गर्न सक्षम दक्ष कार्यबल उत्पादन गर्नु रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

‘यो परियोजना भवन र सुविधाहरूमा मात्र लगानी होइन, यो मानिस, सीप र नेपालको भविष्यको कार्यबलमा लगानी हो। यस परियोजनामार्फत हामी २१औं शताब्दीको अर्थतन्त्रको आवश्यकता पूरा गर्ने उच्च गुणस्तरको, उद्योग सान्दर्भिक प्राविधिक शिक्षा प्रदान गर्ने नेपालको क्षमतालाई सुदृढ पार्ने लक्ष्य राख्छौं,’ सम्झौतापछि कोरिया राजदूत यंगले भने।
अर्थ सचिव उपाध्यायले कोरियाले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रलाई समर्थन गर्दै आएको र यो सम्झौताले नेपालमा प्राविधिक क्षेत्रको उन्नतिको लागि नवीकरण र बलियो प्रतिबद्धतालाई जनाउने बताए ।