काठमाडौँ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले एक वर्षपछि कार्यकारी उपाध्यक्ष पाएको छ । एक वर्षदेखि नेतृत्वविहीन कोषमा नयाँ कार्यकारी उपाध्यक्षका रूपमा अनिलराज पौडेल नियुक्त भएका छन्।

कार्यकारी उपाध्यक्ष रहने कोषमा २०८१ भदौदेखि खाली रहेको थियो । कोषमा अध्यक्ष युवा तथा खेलकुदमन्त्री र कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ ।  हालै बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उपाध्यक्ष नियुक्ति भएसँगै एक वर्षदेखि रोकिएका काम नियमित रूपमा अगाडि बढ्ने जानकारी दिए ।

“उपाध्यक्ष नहुँदा गत आर्थिक वर्ष २०८१\८२ कर्जा प्रवाह रोकिएको थियो,” उनले भने, “कर्जा प्रवाहका लागि सूचना निकालिसकेकाले एक महिनापछि कर्जा प्रवाह गर्छौं ।” उपाध्यक्षले कोषबारे बुझ्ने काम गरिरहनुभएकाले बाँकी रहेको सबै काम अब नियमित रूपमा अगाडि बढ्ने उनले जानकारी दिए ।

वार्षिक ११ हजार जनालाई स्वरोजगार बनाउने सरकारले जिम्मा दिए पनि कार्यकारी उपाध्यक्ष नहुँदा सो काम रोकिएको कोषले जनाएको छ । उपाध्यक्ष नहुँदा आव २०८१\८२ मा स्वरोजगार बनाउन प्रदान गरिने झन्डै दुई अर्ब कर्जासमेत प्रवाह हुन सकेको थिएन ।

कर्जा असुली, अनुगमन, निरीक्षणको कामसँगै दैनिक प्रशासनिक कार्य भए पनि कर्जा प्रवाहको काम रोकिएको थियो । हालसम्म एक लाख नौ हजार ३३९ युवामा स्वरोजगार कर्जा लगानी प्रवाह अर्थात् स्वरोजगार सिर्जना गरिएको कोषले जनाएको छ ।

कोष स्थापनादेखि हालसम्म १५ वर्षको अवधिमा १४ अर्ब १३ करोड ५८ लाख ३५ हजार स्वरोजगार कर्जा प्रवाह गरिएको छ । कोषले दुई हजार छ सय सहकारी र २० बैङ्कमार्फत युवामा कर्जा परिचालन गरेको जनाएको छ । कोषले बैङ्क तथा वित्तीय संस्थालाई ५।५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने र वित्तीय संस्थाले व्यक्तिलाई आठ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । मनाङ र मुस्ताङबाहेकका ७५ जिल्लामा बिनाधितो कर्जा प्रवाह गरिएको कोषले जनाएको छ ।