काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी भएको भन्दै परिवार र आफूभन्दा नेपाल र नेपाली प्राथमिकतामा रहेको बताए।

राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ। उनले चाँडै दलको नाम घोषणा गर्ने पनि बताए। सो अवसरमा आफूलाई किन्न खोजिएको पनि सुनाए। उनले आफूलाई केही बिचौलिया र मारवाडीले किन्न खोजेको दाबी गरे । उनले भने, ‘मलाई किन्न खोजिएको थियो । तेरो बैंकमा रहेको सबै ऋण तिरिदिन्छु पनि भनेका थिए, तर म मानिनँ ।’

गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको समेत आरोप लगाए । ‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।

ADVERTISEMENT