ललितपुर । बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल केसीले युवाहरुलाई प्रदेशभित्रै सिर्जनशील काम, रोजगारी र उद्यमशीलताको सिर्जना गर्ने बताएकी छन् ।

कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा उनले मन्त्री पदको गरिमा उच्च राख्दै प्रदेशबासी नागरिकको हितमा काम गर्ने बताएकी हुन् । ‘तपाईंहरुले मप्रति गर्नुभएको श्रद्धा र सम्मानलाई कतै चुक्न दिनेछैन, उदाहरणीय काम गरेर सकारात्मक छाप छोड्नेछु, पदमा रहँदा कुनै घमण्ड गर्नेछैन, तपाईंहरुको पक्षमा उभिनेछु । युवाहरुलाई प्रदेशभित्रै काम, रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेछु,’ उनले भनिन् ।

ADVERTISEMENT

मन्त्री केसीले आफू केही गरौँ भन्ने सोचसहित जिम्मेवारीमा आएको बताउँदै सहकार्य र समन्वयका साथ काम गर्ने प्रतिवद्धता जनाइन् । उनले पार्टीले इमानदारिता, लगनशीलता र धैर्यताको कदर गरेको भन्दै महिलाहरूलाई राजनीतिक नेतृत्वमा अगाडि बढाउन कांग्रेस ललितपुर जिल्ला पार्टी पंक्तिले गरेको योगदान र दिनुभएको सम्मानप्रति आभार व्यक्त गरिन् ।

ADVERTISEMENT

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले पार्टीका काम गरेको निरन्तरता र योगदानको सम्मान भएको भन्दै पदमा रहेर प्रदेशबासी नागरिकको हितमा इमानदारीपूर्वक काम गर्न आग्रह गरे। उनले खेलकुदका विषयगत क्षेत्रमा छुट्याइएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सुझाव दिए ।

कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले पार्टीभित्र संगठनमात्रै नभई समस्यामा परेका हरेक नागरिकलाई निस्वार्थ भावले गरेको सहयोगले आज यो अवस्थासम्म पुगेको भन्दै त्याग, संघर्ष र योगदानको कदर भएको बताए ।