काठमाडौं । भदौ २९ गते हुन गइरहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स चोइस अवार्डको नोमिनिज सार्वजनिक गरिएको छ । काठमाडौमा आइतबार एक कार्यक्रमको आयोजना गरी पिपुल्स च्वाइस अवार्डको नोमिनिज सार्वजनिक गरिएको हो ।
पिपुल्स चोइस अवार्डको नोमिनिजमा परेका खेलाडीमा पूजा महतो (क्रीकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल), विजय सिन्जाली (उसु) र एभाना थापा (टेबल टेनिस) छन् ।
साथै, पिपुल्स चोइस अवार्डको भोटिङका लागि नेपाल खेलकुद पत्रकार मञ्च रआइएमइअन्तर्गतको खल्तीबिच सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पिपल्स च्वाइस विधाका विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा चुनिने छ ।
आईएमई खल्तीको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ) नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहनेछ ।
यो विधाका विजेताले पल्सर मोटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।










