इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम (Equity Linked Investment Scheme) यस्तो  लगानी योजना हो, जसलाई म्युचुअल फन्ड कम्पनिहरु वा अन्य वित्तीय संस्थाहरूले सञ्चालन गर्दछन। म्युचुअल फन्ड कम्पनिले लगानीकर्ताबाट जम्मा भएको रकमलाइ शेयर बजार राम्रो संग बुझेका अनुभवी बिज्ञहरुद्वारा उच्च प्रतिफल दिने सम्भावना भएका कम्पनीहरू छानेर त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्दछ, जसले गर्दा जोखिमको सम्भावना न्युन हुन्छ यसले लगानीकर्ताहरूलाई शेयर बजारको बारेमा आफुलाई केहि थाहा नभए पनि शेयर बजारको वृद्धि बाट हुने फाइदा लिन र आफ्नो सम्पत्ति प्रतिदिन वृद्धि गर्दै जाने सुरक्षित अवसर दिन्छ। इक्विटी अर्थात् शेयरमा लगानी गरिने हुँदा यो योजनालाइ इक्विटी लिंक्ड इन्भेष्टमेन्ट भनिएको हो।

इक्विटी लिंक्ड इन्भेष्टमेन्टका बलियो पक्षहरु 

शेयरमा आधारित लगानी
यो योजनामा विभिन्न कम्पनीहरूको शेयरमा लगानी गरिनेहुँदा  शेयर बजारको उतारचढावले यसको प्रतिफललाई प्रभाव पर्दछ तर म्युचुअल फन्ड कम्पनिले लगानी ब्यबस्थापन गर्ने हुँदा बजारको उतारचढाव बाट निरन्तर कसरी फाइदा लिनसकिन्छ त्यसअनुरुप अध्धयन गर्दै रणनीति बनाइएको हुन्छ त्यसैले  यस्तो योजनाले शेयर बजारको बारेमा अनभिज्ञ वा अन्य पेशामा ब्यस्त रहने लगानीकर्ताहरुलाई पनि शेयर बजारका अवसरहरुको प्रतिफल लिन सहयोग गर्दछ।

उच्च प्रतिफलको सम्भावना
शेयर बजारले राम्रो प्रदर्शन गरेको अवस्थामा यस्ता योजनाहरुले १०-१५% वा सोभन्दा बढी वार्षिक प्रतिफल दिन सक्छन् त्यसैले इक्विटी लिंक्ड योजनहरुले  मुद्दती निक्षेप वा ऋणपत्रहरुको तुलनामा उच्च प्रतिफल दिन सक्छन्।

स्थिर प्रतिफलको लागि लगानी विविधीकरण
शेयर बजारमा आधारित लगानी भएकाले, यस्तो योजनाहरुमा जोखिम पनि हुन्छ। बजार घट्दा लगानीको मूल्यपनि घट्न सक्छ। म्युचुअल फन्ड कम्पनिले  शेयर बजारको जोखिमलाइ विचार गर्दै सामान्यतया विभिन्न कम्पनीहरू जस्तै, बैंक, हाइड्रोपावर वा उत्पादनमा आधारित कम्पनीहरुमा लगानी गरि आफ्नो लगानीलाई विविधीकरण गर्दछ, जसले बजारको एउटा क्षेत्रले न्युन प्रतिफल दिंदा अर्को क्षेत्रले उच्च प्रतिफल दिनसक्छ यसले लगानीमा निहित जोखिमलाई न्युन गर्दै लगानीकर्तालाई सुरक्षित र स्थिर प्रतिफल दिने गर्दछ।

लगानीको अवधि
इक्विटी लिंक्ड स्किमहरूमा लगानी गरि तपाई आफ्नो आवश्यकता अनुसार जहिले पनि आफ्नो लगानी फिर्ता लिएर योजना बाट बाहिरिन सक्नुहुन्छ तथापी इक्विटी लिंक्ड स्किमहरू सामान्यतया ५ देखि १० वर्ष वा सोभन्दा बढीको दीर्घकालीन लगानीका लागि उपयुक्त हुन्छन् जसले छोटो अवधिमा बजारमा हुने उतारचढावको जोखिम घटाउछ , किनकि सामान्यतया हाल सम्मको अध्धयनले लामो अवधिमा बजार वृद्धि हुने सम्भावना धेरै रहेको देखाएको छ। योजनाको लगानी अवधी योजनाको प्रकार तथा निष्काशन गर्ने संस्थाको रणनीति अनुसार फरक हुन सक्दछ। 

नेपाली सन्दर्भमा इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना
नेपालमा इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमहरू मुख्य रूपमा म्युचुअल फन्ड मार्फत सञ्चालित छन् । नेपाल धितोपत्र बोर्ड (SEBON) को नियमनमा रहेका यस्ता फन्डहरूले न्युन, मध्यम वा सबैप्रकारका आय भएका लगानीकर्ताहरूलाई शेयर बजारमा सहज पहुँच दिएका छन्। नेपालमा सिद्धार्थ इक्विटी फन्ड, NIBL समृद्धि फन्ड, वा सानिमा इक्विटी फन्ड जस्ता म्युचुअल फन्डहरूले बन्दमुखी इक्विटी लिंक्ड योजनाहरु सञ्चालन गरेका छन्  यी फन्डहरूले नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूमा लगानी गर्छन्। सानो रकम जस्तै, एक हजार  रूपैयाँ बाट पनि यस्ता योजनाहरुमा लगानी सुरु गर्न सकिनेहुँदा  साना लगानीकर्ताहरू पनि आफु संगभएको सानो रकमबाट  यो योजनामा सहभागी हुनसक्छन ।

इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजनाक प्रकारहरु 

नेपालमा दुई प्रकारका इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना संचालनमा रहेको पाईन्छ 

१. बन्द मुखी
बन्द मुखी (Close-Ended Fund) भनेको निश्चित अवधि निर्धारण  गरिएको योजना  हो,जसमा एक पटकमात्रै प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गरि पूँजी संकलन गरिन्छ। यसमा लगानीकर्ताले केवल प्रारम्भमा मात्र शेयर किन्न सक्छन् र त्यसपछि फन्ड बन्द हुन्छ अर्थात, तोकिएको अवधि समाप्त नभएसम्म लगानी गरेको रकम  फिर्ता हुदैन तर लगानीकर्ताले फन्डको इकाई दोस्रो बजार (स्टक एक्सचेन्ज) मार्फत खरिद-बिक्री गर्न सक्छन्। जसमा खरिद-बिक्री दर नेट असेट भ्यालु (NAV) भन्दा फरक पर्न सक्दछ।

२. खुल्ला मुखी
खुल्ला मुखी योजनामा लगानीकर्ताहरू जुनसुकै समयमा पैसा लगानी गर्न वा आफ्नो लगानी फिर्ता लिन सक्छन्। यो  योजनामा लगानीकर्ताहरुले एकैचोटी वा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (SIP) गर्दै  निरन्तर लगानी थप्न सक्दछन र आफुलाई पैसाको आवश्यकता पर्दा वा लगानी पुनर्संरचना गर्नुपर्दा आफ्नो इकाईहरु कुनैपनि बेला नेट असेट भ्यालु (NAV) मा (रिडीम) बेच्न सक्दछन्। यो योजनाको समयावधि तोकिएको हुदैन, र फन्डको इकाई संख्या (units) लगानीकर्ताको मागअनुसार घट्न वा बढ्न सक्छ। 

नेपालमा पहिलोचोटी खुल्ला मुखी  एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम जारी भएको छ जस अन्तर्गत रु.१० अंकित दरको ५,००,००,००० इकाई सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ। जुन लगानिकर्ताहरुको लागि उचित प्रतिफल लिने एउटा राम्रो अवसर हुन सक्दछा। 

कसले लगानी गर्न उपयुक्त?

हरेक लगानी लगानीकर्ताको उदेश्य र जोखिम वहन गर्ने क्षमतामा आधारित हुन्छ त्यसैले सबै प्रकारका लगानी सबैको लागि उपयुक्त नहुन सक्छ त्यस्तै इक्विटी लिंक्ड इन्भेष्टमेन्ट मुलत निम्न लगानीकर्ताहरुको लागि उपयुक्त देखिन्छ :

  • ५ देखि १० वर्ष वा सोभन्दा बढी समयका लागि लगानी गर्न चाहनेहरु 

  • सानो रकमबाट शेयर बजारमा लगानी गर्न इच्छुक मध्यमवर्गीय लगानीकर्ताहरू

  • आफ्नो पेशागत काममा ब्यस्त रही लगानी गर्न चाहनेहरु तथा 

  • शेयर बजारको जोखिम र अवसरहरुको अध्धयन गर्न  रुचि नहुने लगानीकर्ताहरुका लागि यो योजना आकर्षक सक्छ।  

समग्रमा
इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम नेपाली लगानीकर्ताहरूका लागि शेयर बजारमा लगानी गर्ने र सम्पत्ति जोहो गर्ने आकर्षक अवसर हो। यद्यपि, यसमा समावेश जोखिमलाई बुझेर  मात्र लगानी गर्नुपर्छ। नेपालमा म्युचुअल फन्डहरूले यस्ता योजनाहरुलाई सुलभ र सुरक्षित  बनाएका छन्, जसले साना र मझौला लगानीकर्ताहरूलाई थोरै लगानी बाट पनि  शेयर बजारको लाभ लिन प्रोत्साहन गरेको छ। यदि तपाईं पनि आफुसंग भएको थोरै या धेरै पूँजी भविष्यको लागि  लगानी गरि आफ्नो सम्पति समयानुसार बढाउन चाहनुहुन्छ भने, यो इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना  तपाईंको वित्तीय लक्ष्य प्राप्तिको लागि उपयोगी विकल्प हुन सक्छ।