काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ०.३५ प्रतिशतले सामान्य वृद्धि भई रू. १ अर्ब ९६ करोड १९ लाखमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद नाफा रू. १ अर्ब ९५ करोड ५० लाख रहेको थियो। कम्पनीको सञ्चालन आम्दानी ०.०७% वृद्धि भई रू. ८ अर्ब २४ करोड ५७ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रू. ८ अर्ब २३ करोड ९८ लाख थियो। यो वृद्धिलाई मुख्यतया ब्यूटी एन्ड वेलबीइङ (B&W) सेग्मेन्टका प्रिमियम स्किन र हेयर केयर उत्पादनमा भएको उच्च मागले टेवा पुर्याएको छ। तथापि, पर्सनल केयर (PC) र होम केयर (HC) सेग्मेन्ट अझै पनि चुनौतीपूर्ण बजार परिस्थितिसँग जुधिरहेका छन्।कम्पनीको अन्य आम्दानी भने ३०.७४% ले घटेर रू. १६ करोड ६७ लाखमा सीमित भएको छ।
मुनाफा घट्नुको मुख्य कारण बैंकको मुद्दती निक्षेपमा ब्याज आम्दानी घट्नु, बजार अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको विज्ञापन एजेन्सीको प्रयोग तथा कर सम्बन्धी प्रावधानका कारण वृद्धि भएको खर्च रहेको कम्पनीले जनाएको छ ।
नाफा र व्यावसायिक व्यवस्थापन
चौथो त्रैमासको नाफा रू. ४७ करोड ४० लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४% ले घटेको देखिन्छ। यसमा बिक्री परिमाणमा आएको कमि , बैंकको मुद्दती निक्षेपको कम ब्याज आम्दानी, र मूल्य तथा लागत अनुपातमा पर्ने दबाबले प्रभाव पारेको छ। कम्पनीले रणनीतिकरुपमा उत्पादन विविधीकरण, मितव्ययिता, र लागत अनुपातको संयोजन मार्फत उक्त दबाबलाई केही हदसम्म न्यून गरी आफ्नो आयस्तर कायम राख्न सहयोग पुगेको जनाएको छ। कम्पनीले यस अवधिमा कुनै पनि कानुनी मुद्दा वा विवादको सामना गर्नु नपरेको र कुनै निर्देशक वा संचालकको नाममा मुद्दा दर्ता नभएको बताएको छ।
सम्पत्ति संरचना र नगद प्रवाह
कम्पनीको ट्रेड रिसिबेवल (Trade Receivables) ३०.१३% वृद्धि भई रू. १ अर्ब ४३ करोड ८१ लाख पुगेको छ, जसले जसले बजारमा बिक्री बृद्धि भए पनि भुक्तानी असुली चक्र लामो भएको संकेत गर्छ र उधारो बिक्री विस्तार भएको देखाउँछ। यस अबधिमा स्थिर सम्पत्ति १.१८% घटेर रू. १ अर्ब ५३ करोड ८९ लाखमा झरेको छ। मुद्दती निक्षेपमा लगानी १४.९८% वृद्धि भई रू. २ अर्ब ५० करोड ८ लाखमा पुगेको छ। नगद तथा नगदतुल्य सम्पनी ११.८३% बढेर रू. ९६ करोड १ लाखमा पुगेको छ.

शेयर बजारको स्थिति
कम्पनीको वार्षिक आम्दानी प्रतिशेयर (EPS) रू. २,१३0.१८ र प्रति सेयर नेटवर्थ रू. ५,६६४ कायम रहेको छ। चौथो त्रैमासको अन्त्यमा पी/ई अनुपात २१.८ गुणा रहेको छ भने बजार मूल्य रू. ४६,३४० मा कारोबार भएको छ। अन्तिम ६० दिनको शेयर कारोबारमा उच्चतम मूल्य रू. ४८,५७२ र न्यूनतम मूल्य रू. ४५,००० रहेको छ।
कम्पनीका चुनौतीहरू
यूनिलिभर नेपालले हाल सामना गरिरहेको चुनौतीहरूमा पहिलो जनसंख्या पलायनको कारण घट्दो उपभोक्ता आधार र उपभोक्तामा देखिएको मितिब्ययी व्यवहार बताएको छ। दोस्रो, व्यापार क्षेत्रमा लगातार तरलता अभावले भुक्तानी चक्र लामो हुनु । तेस्रो, उल्टो करसंरचनाले लागत बढाउने र स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घटाउने काम गरेको छ। चौथो, कर दायित्वको गणनामा रहेको असंगति र अनिश्चितताले कम्पनीका लागि वित्तीय योजना बनाउँदा कठिनाई सिर्जना गर्दै आएको छ।

यद्यपि, कम्पनीले यी चुनौतीहरूलाई अवसरमा परिवर्तन गर्न विभिन्न रणनीति अपनाएको छ। हेटौडामा उत्पादन क्षमता विस्तार गरी ब्यूटी एन्ड वेलबीइङ र पर्सनल केयर सेग्मेन्टमा नयाँ उत्पादन थपेको छ। यसले नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दीर्घकालीन रुपमा ब्रान्डको प्रतिष्ठा मद्दत पुर्याउने बताइएको छ ।
समग्रमा
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा यूनिलिभर नेपालले वर्तमान बजार परिस्थितिबीच पनि स्थिर वित्तीय प्रदर्शन कायम राखेको छ। कम्पनीले आफ्नो रणनीतिअनुरुप उत्पादन विविधीकरण, र ग्राहक केन्द्रित सोचले दीर्घकालीन आय वृद्धि र बजारमा आफ्नो बर्चस्व कायम राख्न मद्दत गर्ने अपेक्षा रहेको जनाएको छ ।








