काठमाडौं । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रमुख प्रतिपक्षी दलको नेता संसद्‌मा उपस्थित हुने संसदीय परम्परा छ । विपक्षी दलका नेताले सम्बोधन गर्ने दिन पनि प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । तर त्यो प्रचलनलाई प्रधानमन्त्री केपी ओलीले तोडेका छन् ।

त्यही भएर बुधबार प्रधानमन्त्री ओलीले सम्बोधन गरेका समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा उपस्थित थिएनन् । लगातार तेस्रोपटकसम्म प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् ।

तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अपवाद छन् । प्रधानमन्त्रीले सम्बोधन गर्दा होस् वा विपक्षी दलका नेताले सम्बोधन गर्दा होस् देउवा जहिल्यै संसद् बैठकमा उपस्थित हुन्छन् । संसदमा कम उपस्थित हुने सांसदमा देउवा पनि पर्छन् । तर महत्वपूर्ण समयमा भने उनी पुग्ने गर्छन् । सकभर छुटाउँदैनन् ।

ADVERTISEMENT

कांग्रेस संसदीय व्यवस्थाको पक्षधर भएकाले पनि देउवाले त्यसलाई कायम राख्दै आएका छन् । जस्तोसुकै तिक्तताका बीच पनि देउवा संसदमा पुगेकै हुन्छन् ।

ADVERTISEMENT

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला देउवा संसद् पुगेका थिए । ओलीको सम्बोधन आधा भएको बेला संसद् भवन पुगेका देउवाले त्यसपछि सबै सम्बोधन सुने । सम्बोधन सकेर संसद्को रोस्ट्रमबाट फर्किँदै गर्दा ओलीले देउवासँग हात मिलाए । त्यसपछि केहीबेर दुवै नेता संसद्‌मा बसे । मन्त्रीसँग प्रश्नोत्तर शुरू भएपछि दुवै नेता उठेर हिँडे । प्रधानमन्त्री ओली, देउवासँगै अर्थमन्त्री विष्णु पौडेल पनि बैठक कक्षबाट बाहिरिए ।

ADVERTISEMENT

संसदमा सम्बोधन गर्दै ओलीले कांग्रेस–एमाले गठबन्धन ०८४ सालसम्मै जाने बताए । ‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्‌मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरूसमेत यस सरकारमा सहभागी छन्,’ ओलीले भने, ‘सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’