काठमाडौं । साना जीवप्रतिको माया कहिलेकाहीँ एउटा उद्देश्य बन्न जान्छ। निकिता जलानको जीवनमा पनि यस्तै भयो, जब उनले आफ्नै कुकुरलाई गुमाइन्। त्यस क्षणको पीडालाई उनले आत्मसात् गरिन्, र त्यो पीडा नै बन्न गयो एक मिसनको सुरुवात। त्यो मिसनको नाम हो— पेट मम्मा ।

व्यक्तिगत अनुभवबाट व्यवसायको जन्म भएको हो । कोभिड महामारीको समय थियो। घरभित्र समय बिताइरहेकी निकिताले आफ्नो कुकुरको हेरचाह गर्दै गर्दा महसुस गरिन्, नेपालमा कुकुर र अन्य पाल्तु जनावरहरूको लागि आवश्यक सेवा, उत्पादन र स्याहारका आधारभूत चीजहरूको कमी छ। ‘मैले बजारमा खोज्दा उचित शैम्पू थिएन, उपकरण थिएन, व्यावसायिक ग्रुमर थिएनन्। एउटा सामान्य कोठा र बेसिनमै कुकुर नुहाइँदै थियो,’ उनले भनिन्।
त्यही अभाव देखेर, उनले निर्णय लिइन्– ‘यो म आफैं गर्छु, सही तरिकाले गर्छु।’
नेपालमा पहिलोपटक यस्तो सेवा २०२२ अप्रिलमा स्थापना भएको पेट मम्मा नेपालमै पहिलो व्यावसायिक स्तरको ग्रुमिङ र पेट केयर सेन्टर हो। सुरुमा बजार अध्ययन गर्दा उनले देखिन्, नेपालमा यसअघि व्यावसायिक ग्रुमिङको परिभाषा नै थिएन। मानिसहरू मानव शैम्पू, ड्रायर, रेजर प्रयोग गर्थे।
तर पेट मम्माले नयाँ मानक ल्यायो—पेशाअनुसार प्रशिक्षित स्टाफ, पशु(मैत्री उपकरणहरू, र सुरक्षित सेवा प्रक्रिया। ‘पेट मम्मा नामको अर्थ कुकुर मेरो बच्चाजस्तै हो। एक आमाले जसरी आफ्ना छोराछोरीको हेरचाह गर्छिन्, म पनि त्यही चाहन्थेँ,’ निकिता भन्छिन्। त्यसैले नाम राखियो—पेट मम्मा । उनीहरूको नारा नै छ- ‘One Mama for All Pets’

पेट मम्मामा कुकुर ल्याउँदा ग्राहकसँग विस्तृत जानकारी लिइन्छ, खाना, निद्रा, औषधि, डर वा व्यवहार, सबै कुरा। त्यसपछि मात्रै ग्रुमिङ वा होस्टेल सेवा सुरु हुन्छ। होस्टेलमा तीनपटकको खाना, ५–६ घण्टा खेल्ने समय, सुत्ने कोठा, र दिनचर्या अनुसारको सेवा दिइन्छ।
निकिताले केरला र दिल्लीबाट गरी दुई छुट्टाछुट्टै कोर्स गरिन्— एक कुकुरको व्यवहारबारे र अर्को ग्रुमिङबारे। त्यसपछि उनी नेपाल फर्किइन्। ‘धेरैले सीप सिकेर विदेश जान्छन्, तर मैले भने यही देशमा केही नयाँ सुरुवात गर्न चाहें,’ उनी भन्छिन्।
उनले आफ्ना स्टाफहरूलाई ३–६ महिना तालिम दिइन्। अहिले टिममा २७ जना कर्मचारी छन्—ग्रुमर, होस्टेल स्टाफ, एकाउन्ट, सफाइ, व्यवस्थापन, मार्केटिङ सबै गरी। ‘नेपालमा निरन्तरता र गुणस्तरमा कम उत्पादक छन्। त्यसैले धेरैजसो सामान हामी बाहिरबाट मगाउँछौं,’ उनी भन्छिन्।

नेपालमा पशु–पाल्तु जन्तुका लागि विशेष होस्टेल, ट्रेनिङ, पूर्ण–प्रोफेशनल ग्रुमिङ, सफा उत्पादन, प्रशिक्षित स्टाफ र अन्तर्राष्ट्रिय स्तरको सेवा दिने व्यवसाय विरलै पाइन्छ। यस्ता सेवाहरू प्रदान गर्ने व्यवसाय अझै पनि सुरुआती चरणमै छन्। त्यसैले पनि पेट मम्मा जस्तो व्यवसायको उपस्थिति बजारमा निकै अर्थपूर्ण छ।
निकिताले सुरुआतदेखि नै क्वालिटीप्रति सम्झौता नगर्ने नीति अपनाइन्। ‘कुकुर हो भनेर हामीले सस्तो सामान लगाउने भन्ने होइन,’ उनी भन्छिन्, ‘हामीले ग्राहकको कुकुर वा बिरालोप्रति त्यत्तिकै माया र ध्यान दिने प्रयास गर्छौं जति ऊ घरमा पाउँछ।’ पेट मम्माका प्रायः सबै सामग्रीहरू आयातित छन्, पशु छालाको संवेदनशीलता बुझेर छनोट गरिएका छन्।

ग्रुमिङका लागि प्रयोग हुने क्रीम, श्याम्पु, स्प्रे वा औजारहरू नियमित रूपमा अपडेट गरिन्छन्। धेरै ग्राहकहरू पेट मम्माका सर्भिस र सफाइप्रति विश्वस्त रहेको उनले बताइन् । उनका लागि पेट मम्मा अब व्यापार मात्र होइन, एउटा जिम्मेवार संस्था पनि हो जुन जनावरको हितको अवधारणा बोकेर अघि बढेको छ। यसले घरपालुवा जनावरको हेरचाहमा नयाँ मापदण्ड स्थापना गरेको छ। जब कुकुर वा बिरालो सफा, स्वस्थ र खुसी हुन्छ, त्यसको प्रभाव मालिकमा पनि सकारात्मक देखिन्छ ।







