काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको क्लब अल इत्तेहादमा आबद्ध भएकी छिन्। क्लबले उनलाई ‘नेपाली मेसी’ को उपनाम दिँदै स्वागत गरेको छ।

२० वर्षीया राईले हालै सबै प्रक्रिया पूरा गर्दै इत्तेहादसँग सम्झौता गरेकी हुन्। क्लबले उनलाई एएफसी महिला च्याम्पियन्स लिग २०२५–२६ को प्रारम्भिक चरणका लागि अनुबन्ध गरेको हो।

ADVERTISEMENT

उत्कृष्ट पासिङ, रणनीतिक सोच र मैदानमा चपलता देखाउँदै चर्चामा आएकी प्रीतिले यसअघि भारतको किकस्टार्ट एफसीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्लब यात्रा सुरु गरेकी थिइन्। त्यसअघि उनी घरेलु विभागीय क्लब एपीएफबाट नियमित खेल्दै आएकी थिइन्। जोर्डन पुगिसकेपछि प्रीतिले आफू आबद्ध भएको क्लबलाई उत्कृष्ट अवसर र चुनौतीको मेल भएको बताइन्।

राष्ट्रिय टिमकी मिडफिल्डर प्रीतिलाई क्लबले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । ‘नेपालको मेसी आइपुगेकी छन् । इत्तिहादमा स्वागत छ प्रीति राई,’ इत्तिहादले इन्स्टाग्राममा लेखेको छ । यसपटक समूह ‘सी’मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र कीर्गिस्तानको सड्युशोर एसआई एसियागोल छन् । यस समूहको खेल मलेसियामा हुनेछ ।

इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । क्लबले अगस्त २८ मा केलाना र ३१ मा सड्युशोरको सामना गर्नेछ । सन् २०१८ मा स्थापना भएको अल इत्तेहाद क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग च्याम्पियनको उपाधि जितेको थियो।