काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु प्रणालीको युजरनेम र पासवर्ड लिन आग्रह गरेको छ ।

स्वास्थ्य विभागले महानगर क्षेत्रमा रहेका ३६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थाहरूलाई यो सुविधा उपलब्ध गराउन युजरनेम र पासवर्ड प्रदान गरेको हो।

ADVERTISEMENT

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत संकलन हुँदै आएकोमा अब यो प्रक्रियालाई अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजत पत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपिसहित यथाशीघ्र महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध छ,’ स्वास्थ्य विभागको सूचनामा भनिएको छ ।

ADVERTISEMENT

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यो प्रणालीले स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदनलाई अनलाइनमार्फत व्यवस्थित र प्रभावकारी बनाउनेछ। ‘पहिले एचएमएस नाइन्टी फोरमार्फत स्वास्थ्य संस्थाहरूले आफ्नो मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाउनुहुन्थ्यो । संघीयता लागू भएपछि यो जिम्मेवारी स्थानीय तहमा आएको छ,’ उनले भने, ‘तर, हाम्रोमा तथ्यांक व्यवस्थापनका लागि फोकल पर्सनको अभाव छ। त्यसैले स्वास्थ्य संस्थाहरूलाई नै युजर आइडी र पासवर्ड दिएर अनलाइनमार्फत डाटा प्रविष्टि गर्न लगाउने योजना हो।’

महानगरपालिकाले सबै स्वास्थ्य संस्थाहरूलाई भदौ १५ गतेभित्र आफ्नो युजरनेम र पासवर्ड लिई डिएचआईएस टु प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ। यसले महानगरपालिकाको स्वास्थ्य तथ्यांकलाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको विभागको भनाइ छ । स्वास्थ्य विभागले स्वास्थ्य संस्थाहरूलाई कागजातसहित छिटोभन्दा छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ।