काठमाडौँ । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् ।
नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख १९ हजार ७६८ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् । मुलुकमा रोजगारीका अवसर नपाएपछि सरकारी कोटामा युवा कोरिया पुगेका हुन ।
कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार ३६५ महिलासहित एक लाख १९ हजार ७६८ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ ।
शाखाका अनुसार इपिएसमार्फत कोरिया जान कोरियन भाषा परीक्षामा अहिलेसम्म नौ लाख १९ हजार ६३१ युवाले आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ८३ हजार बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।
सन् २०२५ का लागि पाँच हजार तीन सय नेपाली श्रमिकको माग आएकोमा उत्पादनतर्फ तीन हजार पाँच सय जना र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय जनाको माग आएको इपिएस कोरिया शाखाले जनाएको छ ।
सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार ९८४ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ ।
नेपालले इपिएसबाट श्रमिक पठाउन थालेयता सबैभन्दा धेरै सन् २०२३ मा १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । सन् २०२४ मा नौ हजार २८५ जना दक्षिण कोरिया गए ।






