काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण समेटिएको भ्लग विश्व चर्चित भएपछि माओवादी सांसद छिरिङ ल्हामु लामा गालीगलाैजमा उत्रिएकी छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत इतिहासमा शाहवंशद्वारा जुम्लामा गरिएको क्रूुरता स्मरण गराउँदै हृदयन्द्रको भ्लगलाई ‘सामन्ती सोचको पुनरागमन’ भनेकी छन् । गणतन्त्रले १५ वर्षमै जुम्लामा पूर्वाधार र सेवा पुर्याएको दाबी गर्दै राजतन्त्रले २३८ वर्षमा सिटामोलसम्म पुर्याउन जसकेको उल्लेख गरेकी छन् । उनले हृदयन्द्रलाई कुकुरकाे छाउराेकाे संज्ञा दिएकी छन् ।
‘जुम्ला हिजोदेखि आजसम्म आफ्नो सभ्यता, पहिचान र मौलिकता छ । यसको आफ्नै परिचय छ । यसलाई चिनाउन उसको पूरै वंश जिजुबाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझै गरेर हुर्काएको साढे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जुलगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ, तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो, न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन,’ छिरिङले भनेकी छन् ।
लामाले हृदयन्द्रको भ्लगलाई प्रचारमुखी र ऐतिहासिक अन्यायको सौन्दर्यीकरण गर्ने प्रयास भन्दै राजपरिवारको हैसियतका कारण मिडियाले अनावश्यक महिमामण्डन गरिरहेको आरोप पनि लगाएकी छन्।
‘राजतन्त्रमा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका १२ वटा राजाले अझ भन्ने हो भने जुम्लामा आक्रमण गर्दाका नायबी राजा रणबहादुर शाह र उनकी आमा राजेन्द्रलक्ष्मी शाहको बर्बरतापूर्ण निर्देशनपछि बहादुर शाहसहितको फौजले १८४६ मा निकै क्रूरता साथ साङ्घातिक हमला गरिएको थियो । अहिले त्यहीको झल्को आउने गरी छोरो हृदयन्द्रलाई काखमा चेपेरे आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरियाको ढाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ,’ छिरिङले भनेकी छन् ।
राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहन गरेकोमा अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको भिडियोले त्यसको ऋण चुक्ता नहुने उनको भनाइ छ ।
‘२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन सकेन, गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवालगायत अत्यावश्यक सामग्री पुर्यायो । अहिले हृदयन्द्र शाहको भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हो । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्यो । केन्द्रकृत राज्यसत्ताले जुम्ला को जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्थ्यो ।जुम्लालाई दूरदराज, रोक, भोक र शोकको पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए,’ उनले आरोप लगाउँदै भनेकी छन् ।







