काठमाडौं । कांग्रेस दलको नेताको हैसियत गुमाएपछि पनि राजीनामा नदिने अडानमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अप्ठेरोमा परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा गलेका हुन् ।
देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएका थिए । ‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’
देउवासँगको भेटपछि लामाको ओठमुख सुकेको थियो । उनले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएका छन् । ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ उनी निकट एक नेताले भने, ‘तर, उहाँले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।’
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि लामा नैतिक संकटमा परेका छन् । उनले दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने व्यवस्था संविधान उल्लेख नभएको बताउँदै आएका छन् । तर गत वर्ष नै लामा र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको कांग्रेसका एक सांसदले बताए । लामा र बानियाँ दुवै देउवा निकट नेता हुन् ।












