काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी यतिबेला नैतिक संकटमा छन् । पोखराको लिचीबगैंचाको एक सय ३५ रोपनी जग्गा प्रकरणमा मुछिएका अधिकारीबारे बलियो प्रमाण हुँदाहुँदै पनि प्रधानमन्त्री केपी ओलीले उनलाई पदबाट नहटाएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।

विवादैविवादले घेरिएका अधिकारीले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखहरुको सरुवा गरेका छन् । मालपोत कार्यालय ललितपुरमा उपसचिव अशोक भट्टराई, भक्तपुरमा माधव घिमिरे र कलंकीमा रविन ढकालको सरुवा गरिएको छ । प्रक्रिया मिचेर उनले हतार हतार बुधबार सरुवा गरेका हुन्।

ADVERTISEMENT

लिचिबगैंचा प्रकरणमा उनका परिवारका सदस्यले पैसा लिएको प्रमाण बाहिरिएपछि मन्त्री अधिकारीलाई अख्तियारले सोधपुछमा बोलाउने तयारी छ। सोही प्रकरणमा आफू हट्ने संकेत पाएका मन्त्री अधिकारीले चलखेलका आधरामा मालपोत प्रमुखको सरुवा गरेको स्रोत बताउँछ।

ADVERTISEMENT

निजामती सेवा नियमावलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा कार्यालय प्रमुखको काजसरुवा गर्ने प्रावधान छ। मन्त्री अधिकारीले सहमतिसमेत नलिई सरुवा गरेका हुन्। आफ्नै पार्टी एमालेकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री भए पनि अधिकारीले सहमति लिन आवश्यक ठानेनन् ।

यसअघि मन्त्री अधिकारीले भक्तपुर मालपोतमा पठाएका उपसचिव कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो। ललितपुर, भक्तपुर र कलंकी मालपोत कार्यालय आकर्षक सरकारी अड्डा मानिन्छ ।