काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्नका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदरसहितको प्रस्ताव माग गरेको छ। यसका लागि राष्ट्र बैंकले साउन १३ गते साँझ ७:०० बजेसम्म प्रस्ताव पेश गर्न सकिने जानकारी दिएको छ। 

राष्ट्र बैंकले कूल लगानी योग्य रकम एक अर्ब रुपैयाँमध्ये क वर्गका वाणिज्य बैंकका लागि ५० करोड रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि १५ करोड रुपैयाँ, र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ५ करोड रुपैयाँ छुट्याएको छ। प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्ने बताएको छ । साथै, तिनीहरूले न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा (NPL) ८ प्रतिशतभन्दा कम तथा खूद निष्क्रिय कर्जा (Net NPL) ३ प्रतिशतभन्दा कम राखेको, तरलता अनुपात तथा कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको, र नाफामा रहेको हुनुपर्ने जनाएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार  प्रस्ताव पेश गर्न शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्था भए कम्तीमा ६ महिना अघिसम्म फुकुवा भएको हुनुपर्नेछ। समस्याग्रस्त घोषित संस्था भएमा पनि त्यस्तै अवधि पूरा भएको प्रमाण पेश गर्नुपर्ने बताएको छ।