काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विद्युतीय गाडी (इभी) गाडीको कारखाना नेपालमै खोल्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा उनले पछिल्लो समय नेपालमा ईभीको प्रयोग बढेर गएको बताउँदै स्वदेशमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताएका हुन् ।

‘विद्युतीय यातायात नेपालको परिप्रेक्ष्यमा महत्त्वपूर्ण छ । इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने ।

ADVERTISEMENT

शर्माले अब साना सवारीसाधनलाई हटाएर वातावरणमैत्री ठूला सिटी बसहरू सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले काठमाडौँ सानो सहर भएकाले पार्किङको समस्या समाधान गर्न साना सवारी हटाउनुपर्ने तर्क गरे ।

ADVERTISEMENT

साथै, नेपालमै इभी फ्याक्ट्री खोल्न सके स्पेयर पार्ट्स पनि यही उत्पादन हुने र गाडी सस्तो पर्ने भएकाले निजी क्षेत्रलाई यसमा लगानी गर्न आह्वानसमेत गरे । विदाको दिन आफैं पनि महानगर यातायात चढ्ने गरेको अनुभव सुनाउँदै उनले सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित र वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिए ।

ADVERTISEMENT