काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला युवा नेतृ रामकुमारी झाँक्रीलाई पार्टीबाट निकाल्ने र बयोबृद्ध नेता वामदेव गौतमलाई भित्र्याउने अभियानमा अघि बढेका छन् ।

आफूलाई लक्षित गर्दै ‘सिनो’ भनेपछि माधव कुनै पनि हालतमा रामकुमारीलाई पार्टीमा राख्ने मनस्थितिमा छैनन् । झाँक्री एकीकृत समाजवादी सचिव पनि हुन् । हिजो एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठनका बेला झाँक्रीले नै माधवलाई हात समातेर निर्वाचन आयोगमा लगेर पार्टी दर्ता गर्न अहं भूमिका खेलेकी थिइन् । तर पछिल्लो समय दुवैबीच पानी बाराबारको स्थिति छ ।

ADVERTISEMENT

हालै राष्ट्रिय युवा संघको कार्यक्रममा झाँक्रीले ‘सिनो’ काँधमा बोकेर हिँड्न नसकिने भन्दै अर्ली महाधिवेशन बोलाएर नेतृत्व चयन गर्नुपर्ने बताएकी थिइन् । त्यसपछि एकीकृत समाजवादीमा भुसको आगोझै विवाद चुलिएको छ । पार्टी अध्यक्ष माधव नेपाल पतञ्जली योगपीठ जग्गा भ्रष्टाचारमा डामिएपछि झाँक्रीले उनलाई ‘सिनो’ को संज्ञा दिएकी हुन् । नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाडेको छ ।

तर नेपालले आफूले भ्रष्टाचार नगरेको भन्दै प्रमाणित भए कारबाही भोग्ने चुनौती दिएका छन् । उनले मन्त्रिपरिषद्ले गर्ने निर्णयमा अदालतले मुद्दा चलाउन नपाउने जिकिर गर्दै आएका छन् ।

ADVERTISEMENT

एमाले र एकीकृत समाजवादी दुवैमा विद्रोही नेतृको छवि बनाएकी झाँक्रीलाई निकालेर माधव नेपाल पुराना कम्युनिस्ट नेता वामदेव गौतमलाई भित्र्याउन लागिपरेका छन् । एमालेमा जान बाटो कुरिरहेका वामदेम गौतमलाई एमालेले वास्ता नगरेपछि एकीकृत समाजवादीतिर लागेका हुन् ।

माधव नेपाल र वामदेव गौतमबीच साउन २ गते पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । वामदेव एकीकृत समाजवादीको तेस्रो वरिष्ठ उपाध्यक्ष बन्ने सहमति भएको छ । वामदेव आफ््नै बोलीमा ठेगान नभएका नेता हुन् । पहिले पनि उनले माधवसँग एकीकृत समाजवादीमा आउने सहमति गरेका थिए । तर पछि एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि माधवलाई धोका दिएका थिए । अब भने के गर्लान् भन्ने चासो छ ।