काठमाडौं । युनाइटेड सिमेन्टले एक वर्षमै साढे दुई अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा दुई अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

केएल दुगड ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनीले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत व्यापार वृद्धि गर्न सफल भएको जनाएको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । व्यापारसँगै कम्पनीको नाफामा पनि बढोत्तरी नै देखिएको छ । गत वर्ष सन् २०२४ कम्पनीले ३.३४ प्रतिशत बढाएको थियो ।

ADVERTISEMENT

सन् २००७ मा स्थापना भएको युनाइटेड सिमेन्टले क्लिंकर उत्पादनदेखि सिमेन्ट ग्रान्डिङसम्मको प्रक्रिया आफ्नै उद्योगमार्फत सञ्चालन गर्दै आएको छ । धादिङको नौबिसेमा अवस्थित उद्योगले वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । कम्पनीले दुई ब्राण्डमार्फत उत्पादन बजारमा ल्याउने गरेको छ । ओपीसी सिमेन्ट युनाइटेड ब्राण्डअन्तर्गत र पीपीसी सिमेन्ट राजधानी ब्राण्डमार्फत बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

ADVERTISEMENT

सन् २०२४ को जुनमा कम्पनीले पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएसँगै थप विस्तार र पारदर्शिता अभिमुख योजनाहरू अघि बढाएको छ । युनाइटेड सिमेन्टमा नरेश दुगड, कुमुदकुमार दुगड र विकास दुगडको समान रूपमा ३३–३३ प्रतिशत स्वामित्व छ ।