काठमाडौं । सिन्धुलीबाट काठमाडौं आउने सवारीसाधनलाई एक महिनाका लागि साँझ साढे ६ देखि बिहान ५ बजेसम्म रोक लगाउने सिन्धुली प्रशासनले निर्णय गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासनले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन जाने भएकाले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।
यसअघि असार २० गतेसम्म लागू हुने गरी बिपी राजमार्गमा राति सवारीसाधन चलाउन निषेध गरिएको थियो । त्यो मिति शुक्रबारदेखि सकिएकाले थप ३० दिन अर्थात् साउन २० गतेसम्म समय थप गरिएको छ ।
‘हाल पनि मनसुन सक्रिय अवस्थामै रहेकोले बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौंतर्फ जाने सार्वजनिक, निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६ः३० बजेदेखि विहान ५ः०० बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० दिनका लागि निषेध गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
गत असोज १२ को बाढीपहिरोले बिपी राजमार्गको ठाउँठाउँमा सडक बगाएको छ । जसकारण सानो पानी परे पनि यातायातका साधन अवरुद्ध हुँदै आएको छ ।







