काठमाडौं । चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहाना अधुरै रहने भविष्यवाणी गरेका छन् । भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकै दिन खण्डित अर्थात् (भाग्य भंग) राजयोग परेकाले उनको सक्रिय राजनीतिमा आउने चाहना अधुरै रहने रिजालको भनाइ छ ।

राजनीतिमा सक्रिय भए पनि भण्डारीले उच्च सम्मानमा अवरोध नै अवरोधको सामना गर्नुपर्ने ग्रह गोचरले संकेत गरेको उनले बताए । ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले आफू पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकै दिन खण्डित अर्थात (भाग्य भंग) राजयोग परेकाले उहाँको सक्रिय राजनीतिमा आउने चाहना अधुरै रहनेछ । घोषणा नै देवगुरु बृहस्पति अस्त र खण्डित (भाग्य भंग) योगमा परेकाले उच्च सम्मानमा अवरोध नै अवरोधको सामना गर्नुपर्ने ग्रह गोचरले संकेत गरेका छन्,’ रिजालले भने ।

चर्चित ज्योतिषी रिजाले कांग्रेस सभापति शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका हुन् । पछिल्लो समय उनको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सबै शीर्ष नेतासँग राम्रो सम्बन्ध छ । उनले देउवाबारे गरेका अधिकांश भविष्यवाणी सही सावित भएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राष्ट्रिय सभा गृहमा आयोजित मदन जयन्ती गोष्ठीमा आफूले एमालेको साधारण सदस्यता नवीकरण गरेको उल्लेख गर्दै राजनीतिमा सक्रिय भएको घोषणा गरेकी थिइन् । उनको यो घोषणाले एमालेमा हलचल मच्चिएको छ । खासगरी एमाले अध्यक्ष केपी ओलीको वर्चश्व भंग गर्न विद्यादेवी एमालेमा सक्रिय हुन लागेको विश्लेषण गर्न थालिएको छ ।